राष्ट्रपति निवासमाथि विमान उडाउन नपाइने

प्रकाशित मिति:

काठमाडाैं –  काठमाडाैं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडाैंबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ ।  ‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै यी दुई स्थानलाई नयाँ ‘हेली लेन’ भित्र समावेश गरिएको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’ कार्यान्वयनमा ल्याइएको जानकारी दिए । सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडाैं उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ । उहाँले ‘हेली लेन’ को कार्यान्वयनसँगै राष्ट्रपति कार्यालय, शीतल निवासभन्दा एकहजार फिट माथि हवाईजहाज उडाउन पाइने, तर हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने बताए । त्यसैगरी, गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि हवाईजहाज उडाउन गर्न पाइन्छ भने हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न पाइने छैन ।”

राष्ट्रपति कार्यालय र नेपाली सेनाको हातहतियार भण्डारण स्थल बाहेकका हवाइ रुटलाई यथावत राखिएको बताउँदै उनले काठमाडौंबाट बाहिरिने हेलिकोप्टरका लागि उपत्यकाको पूर्वमा साँगा र नालामाथिको दुईवटा रुट थप गरिएको जानकारी समेत दिए । नयाँ ‘हेली लेन’अनुसार हेलिकोप्टरले बढीमा छ हजार फिटसम्मको उचाईमा काठमाडाैं उपत्यकामा उडान भर्न सक्ने प्राधिकरणले जनाएको छ । यसअघिको ‘हेली लेन’मा चार हजार आठसय फिटको उचाईमा मात्र हेलिकोप्टर उडान गर्न मिल्ने व्यवस्था गरिएको छ । त्यसैगरी, यसअघिको ‘हेली लेन’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हेलिकोप्टरका लागि पूर्वतर्फ चाँगुनारायणको डाँडा, सुन्दरीजल र साँखु तथा पश्चिमतर्फ थानकोट, सीतापाइला, मनमैँजु र टोखाको रुट निर्धारण गरिएको थियो । गाेरखापत्रमा खबर छ