बेपत्ता बालबालिका अझै भेटिएनन

प्रकाशित मिति:

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिकामा एक साताअघि हराएका बालबालिका अझै फेला परेका छैनन् । गएको फागुन ६ गते होस्टलबाट आमासँगै घर फर्कदै गरेका बालबालिका बेपत्ता भएका थिए ।खुम्बु पासाङल्हामु गाउँपालिका –७ मा रहेको एक होस्टलबाट घर जाने भनी हिँडेका बालबालिका र आमा घर नपुगेपछि खोजी गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेला परेको थियो । ११ वर्षीय छोरी ङिमाडोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गादोर्जी शेर्पा अझै बेपत्ता छन् । सोलुखुम्बु प्रहरीले खोजी जारी राखे पनि उनीहरु अझैसम्म फेला नपरेको डीएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रहरीले आसपासका क्षेत्रमा खोजी गरिरहेको छ । दुधकोशी नदी मिसिने छिमेकी जिल्लाहरु ओखलढुंगा, खोटाङ र उदययपुरका प्रहरी युनिटलाई समेत खोजीका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । आमाको शव नदी किनारमा भेटिएको र बच्चाको कपडासमेत फेला परेकाले आमा मिङमा याङजी शेर्पाले बच्चासँगै आफू पनि खोलामा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।