नेपाल महत्वपूर्ण साझेदार मुलुक : अमेरिका

प्रकाशित मिति:

काठमाडौं – अमेरिकाले नेपाललाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भनेको छ । दक्षिण तथा दक्षिण–पूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले यस क्षेत्रकै महत्वपूर्ण साझेदारका रूपमा नेपाललाई लिएको बताएका छन् । विश्व शान्तिका लागि नेपालले निर्वाह गरेको भूमिकाले झन् निकट रहेर सहकार्य गर्न उत्साहित गरेको उनको भनाइ छ ।

‘हामीलाई मित्र मुलुक नेपालको आवश्यकता छ । नेपाललाई पनि हामी आवश्यक छांै । कुन–कुन स्थानमा चाहिन्छ भन्ने स्पष्ट पारेर अघि बढ्नुपर्छ । हामी द्विपक्षीय ठूलो साझेदार हौं’, अमेरिकी राजदूत निवासमा उनले पत्रकारसामु भने, ‘सार्वभौम मुलुक निर्णयका लागि सधैं स्वतन्त्र रहन्छ । हाम्रो भ्रमण र सहकार्य पनि अघि बढेकै छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणका बेला अमेरिकाले यो क्षेत्रमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको थियो । भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाले अमेरिकी कदमको आलोचना गरेपछि अमेरिका असन्तुष्ट देखिएको थियो । त्यसपछि फेल्टर नेपाल भ्रमणमा आएका हुन् । यसअघि एसिया–प्यासिफिक कमान्ड प्रमुख नेपाल आएका थिए । राजदूत र्‍यान्डी बेरीलाई साथमा राखी फेल्टरले नेपाल–अमेरिका सम्बन्ध पुरानो र मजबुत मात्र होइन, विश्व शान्तिका लागि सैन्य साझेदारमा अग्रसरसमेत रहेको स्पष्ट पारे ।

अमेरिकाले ‘अन्य’को आँखाबाट नेपाल हेर्छ भन्ने धारणा पुरानो भइसकेको उनले बताए । ‘छिमेक पनि जोडिने कतिपय विषयमा निर्णय लिँदा छिमेक वा छिमेकमा रहेको दूतावासको धारणा बुझ्ने कूटनीतिक अभ्यास हो’, उनले भने, ‘हरेक मुलुकले विशेष इस्यूमा यस्तो गर्छन् । यसलाई अन्य आँखा भन्न मिल्दैन ।’ नेपाललाई अमेरिकाले आफ्नै आँखाबाट हेर्ने उनले प्रस्ट पारे । नेपाललाई अमेरिकाले भारतको आँखाबाट हेर्ने गरेको भन्ने धारणामा उनले जवाफ दिएका हुन् । ‘म सुरक्षा निकाय हेर्ने व्यक्ति भए पनि कतिपय विषय कूटनीतिसँग जोडिएर आउँछन्’, उनले भने ।

नेपालको विकासमा अमेरिकाले सात दशकदेखि साझेदारी गर्दै आएको उनले उल्लेख गरे । उनले यो क्षेत्रमा सुरक्षा सहकार्यका हिसाबले पनि नेपाल साझेदार रहेको बताए । ‘शान्ति सेना प्रक्षिण केन्द्र होस् या नेपालको प्रस्तावित डिफेन्स युनिभर्सिटीमा पनि हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘द्विपक्षीय सैन्य अभ्यास÷प्रशिक्षण निरन्तर छ ।’ प्राकृतिक प्रकोप उद्धारमा पनि अमेरिकाले नेपाललाई सहयोग गरेको उनले उल्लेख गरे । नेपाली सेनाको व्यावसायिकता वृद्धिका लागि सहयोग जारी राख्ने प्रतिबद्धता उनले जनाए ।

उनका अनुसार नेपाललाई उपलब्ध गराउने भनिएको स्काई ट्रक जतिसक्दो छिटो पठाउने तयारी छ । पहिले दुई र त्यसपछि दुइटा ट्रक नेपाललाई उपलब्ध गराउन काम भइरहेको छ । अमेरिकाबाट एम १६ राइफल खरिद प्रक्रिया अघि बढेको उनले सुनाए । नेपालको दुवै छिमेकसँग सम्बन्ध राम्रो रहेको र रहनुपर्ने धारणा उनले व्यक्त गरे । भूगोल, अनुभव र अब्बलता सबै हिसाबले नेपाल यस क्षेत्रमा भूमिका खेल्न सक्ने मुलुकका रूपमा रहने विश्वास अमेरिकाको रहेको उनले सुनाए । ‘नेपालको विकासमा अमेरिकाको सहयोग सधैं रहनेछ’, उनले भने ।