रुपन्देही सुपर लिग,साई ग्लोबल डिभिजन ‘ए’ मा

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीक्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा मंगलबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा जित निकाल्दै साई ग्लोबल क्रिकेट क्लब, भैरहवा डिभिजन ‘ए’ मा उक्लिएको छ । साई ग्लोबलले दीप क्रिकेट क्लब, बुटवलमाथि ७ विकेटको सहज जित निकालेको हो ।दीपबाट जितका लागि पाएको १२० रनको लक्ष्य साई ग्लोबलले २८ ओभर २ बलमा ३ विकेटको क्षतिमा १२१ रन बनाउँदै भेट्टायो । जसमा आस्तोष पासवानले नटआउट ५२ तथा बादल छन्त्यालले ४३ रनको योगदान गरे । बलिङमा दीपका अर्जुन गिरीले २ तथा सुभाष विकले १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दीपले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाई ११९ रनको सामान्य स्कोर बनाएको थियो ।

उसलाई  स्तैमा समेट्न खेलका म्यान अफ द म्याच समेत रहेका साई ग्लोबलका इमरान खानले ६ विकेट लिए । यस्तै, दुर्गेश कुर्मीले २ तथा अहम्मद हुसेनले १ विकेट लिए । यो खेलसँगै डिभिजन ‘बी’को सबै समिकरण पुरा भएको छ । यस वर्ष साई ग्लोबलसँगै स्टार क्रिकेट क्लब, बुटवल ११ क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब डिभिजन ‘ए’मा उक्लिएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।अब लिग चरणअन्तर्गत डिभिजन ‘ए’ का खेलहरु यही १७ गतेदेखि सुरु हुनेछन् । १७ गते डिभिजन ‘ए’ को पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब, भैरहवा र शंकरनगर क्रिकेट क्लब, शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ । चैत ६ गतेसम्म चल्ने लिगमा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।