अदालतबाट छुटे लगतै पक्राउ परे विप्लवका नेता

प्रकाशित मिति:

विराटनगर । बम विस्फोट घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतालाई अदालतले छाडेकै दिन प्रहरीले पक्राउ गरेको छ ।भारतीय दूतावासको सम्पर्क कार्यालय विराटनगरमा गत वर्ष बम बिस्फोट गराएको आरोपमा आइतबार पक्राउ परेका मोरङका पूर्वइञ्चार्ज जितेन्द्र महरालाई जिल्ला अदालत मोरङले साधारण तारेखमा छाडेकै दिन प्रहरीले पक्राउ गरेको हो ।२०७४ वैशाख ३ गते भारतीय दूतावासको सम्पर्क कार्यालयाको पश्चिम पट्टीको पर्खालमा कुकुर बम बिस्फोट भएको थियो । बम बिस्फोट घटनामा प्रहरीले महरासहितको समूहलाई प्रतिबादी बनाएर मुद्धा दायर गरेको थियो ।

बम बिस्फोट घटनामा फरार रहेका महरालाई काठमाडौंमा विप्लव समूहले गराएको बिस्फोटमा एक जनाको मृत्यु भएपछि आइतबार पक्राउ गरिएको थियो ।मंगलबार महरालाई जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।अदालतबाट छुटै लगतै महरालाई मोरङको पथरी स्थित हरियाली सामुदायिक वनमा बिस्फोट गराएको घटनामा पक्राउ गरेको प्रहरीले जनाएको छ । वनमा २०७४ चैत ११ गते सुतली बम बिस्फोट भएको थियो ।बिस्फोटमा संलग्नता देखिएपछि महरालाई अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।