प्रतिकुल मौसमले देवदहको मेला सर्यो, उद्घाटन अब शुक्रबार हुने

प्रकाशित मिति:

झविन्द्र देवकोटा  देवदह, १५ फागुन । देवदहमा फागुृन १६ गतेदेखि लाग्न थालेको मेला एक दिन पछाडि सरेको छ । बुधबार बिहानैदेखि परेको पानी हवाका कारण अस्थायी संरचनाहरुमा क्षति पुगेको र तयारीमा केही समय लाग्ने भएकाले मेला एक दिन पछाडी धकेलिएको हो । देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेलाको सबै तयारि पुरा भई सकेको थियो । मौसम प्रतिकुल भएका कारण मेलाको उद्घाटन एक दिन पछाडि अर्थात शुक्रबार सार्न परेको बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका अध्यक्ष गोपाल ढकालले जानकारी दिए । ढकालका अनुसार बिहीबार हुने मेलाको उद्घाटन सँगै सम्पुर्ण कार्यक्रमहरु पुर्वनिर्धारण गरिए अनुसार शुक्रबार यथावत समयमै हुने छन् । मेलाको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा। शशाङ्क कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने बताइएको छ । मेलामा बुद्धको स्टेचु र अग्लो खुकुरी समेत मेलाका आकर्षक रहनेछन् ।

देवदहमा रहेका ब्यवसायिक संस्था देवदह उद्योग संघ, देवदह ब्यापार संघ तथा देवदह उद्योग ब्यापार संघले आलोवपालो देवदह मेला स्थलमा मेला लगाउदै आएका छन् भने यसपालि देवदह उद्योग बाणिज्य संघको पालो परेको हो । अहिलेको मेलालाई करिव ३ बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजक उद्योग संघले लिएको महासचिव हरि भण्डारीले जानकारी गराए । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको बताउदै महासचिव भण्डारीले देवदहमा स्थायी संरचना नहुँदा धेरै रकम यसै खर्च हुने गरेको बताए ।  आम नागरिकलाई प्रवेशका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको मेलामा विद्यार्थीका लागि ३० रुपैया निर्धारण गरिएको छ भने समुहमा १० जनाभन्दा बढी मेला हेर्न जानेले मात्र २५ रुपैयामा प्रवेश टिकट पाउने आयोजकले बताएका छन् । यसपालिको मेलामा भने जेष्ठ नागरिक र अपाङगता भएका ब्यक्तिले परिचय पत्रका आधारमा निशुल्क प्रवेश पाउने बताइएको छ । मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताए । पर्यटन, कृषि कृषिजन्य उत्पादनको प्रवद्र्धन र विकासमा मेलाले खेल्ने भूमिका महत्वपुर्ण रहेको बताउने संघले अहिलेको मेलामा कृषकका लागि निशुल्क माटो परिक्षणको ब्यवस्था समेत मिलाएको छ । कृषि र पर्यटनलाई प्राथमिकता दिइएको महोत्सवमा देशका ४५ बढी जिल्लाबाट औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका स्टलहरु रहने छन् ।