गुल्मीको रेसुंगामा हिमपातसँगै जनजीवन प्रभावित

प्रकाशित मिति:

गुल्मी – मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण गुल्मीको रेसुंगा, मदाने, सत्यवती लगायतका क्षेत्रमा हिमपात भएको छ ।हिमपात र वर्षाका कारण बुधवार दिनभर जिल्लाको जनजीवन निकै प्रभावित बनेको थियो । वर्षा र हिमपातका कारण जिल्ला सदरमुकाम तम्घास लगायत जिल्लाका अन्य ग्रामीण क्षेत्रहरुमा बुधबार अत्यधिक मात्रामा चिसो बढेको छ ।चिसो बढेपछि बजार र सडक क्षेत्रमा मानिसहरु घर र चोकचोकमा सामुहिक रुपमा दाउरा बालेर आगो तापेर बस्दै गरेका देखिन्थे । लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रवाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधनहरु समेत प्रभावित बनेका थिए ।

जसका कारण सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुँदा कार्यालयहरु समेत सुनसान जस्ता देखिन्थे ।सदरमुकाम तम्घाससँगै जोडिएको रेसुंगा क्षेत्र अन्र्तगत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावर लगायतका क्षेत्रहरुमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण जिल्लाका कतिपय विद्यालयहरुमा पठनपाठन समेत प्रभावित बनेको थियो ।बेमौसमी वर्षाका कारण डेढ महिनाको अवधिमा चार पटक हिमपात भएपछि जिल्लाको विकास निर्माण कार्य समेत थप प्रभावित बनेका छन् ।जिल्लामा सञ्चालनमा आएका दर्जनां सडक तथा भवनहरुमा वर्षाका कारण नियमित रुपमा काम सञ्चालन हुन नसक्दा कामदारहरु अलपत्र परेको र निर्माण कार्य भइरहेका स्थानहरुका काम समेत वर्षाले बिगारिदिने गरेको निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले बताउनु भएको छ ।हिमपात र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने भएकाले जिल्लाका कृषकहरु भने निकै खुशी बनेका छन् ।
गुल्मीमा यस वर्षमात्र चौंथो पटक हिमपात भएको हो ।