‘मारुनी’ गीतमा दीपकको स्वर

प्रकाशित मिति:
चर्चित पप गायक दीपक बज्रचार्यले करीब एक दशकपछि नेपाली फिल्मको गीतमा आफ्नो स्वर भरेका छन् । फागुन १८ गतेबाट फ्लोरमा निस्कन लागेको ‘मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारुनी’ का लागि उनले मंगलवार एक गीत रेकर्ड गराए । ‘जाम न माया जाम’ गीतमा उनकै संगीत छ । उनले पहिलो पटक गीतमा संगीत भरेका हुन्त्रिपुरेश्वरमा रहेको कृपा स्टूडियोमा रिक्की शाक्यको शब्दमा आवाज भर्दै गर्दा भेटिएका उनले धेरैपछि फिल्मको गीतमा अवाज भर्न पाउँदा खुसी महशुस गरेको बताए । पहिला फिल्मको माहोल अर्कै भएका कारण आफू भिज्न नसकेको उनको अनुभव छ । उनी पहिला कलाकारको मुडअनुसार गीत तयार गर्नुपर्ने पनि सम्झन्छन् ।
उनी भन्छन्, ‘पहिला कलाकारको मुड र ठाँउ अनुसार गीत तयार गर्नुपर्थ्यो । अनि, अलि हतारमा गीत तयार गर्दिनु पर्‍यो भन्दै आउनुहुन्थ्यो । तर, म हतारमा गीत तयार गर्दिनँ । ‘मारुनी’ मा चाहिँ निर्मात्री पुनम (गौतम) दिदीले कति टाइम चाहिन्छ लिनु भनेपछि मात्र म तयार भएको हुँ ।’ उनका अनुसार, यो गीत तयार गर्न ६ महिना समय लागेको थियो ।
उनले गीतको पहिलो अन्तरा नर्वे, दोस्रो अन्तरा कोरिया र अन्तिम अन्तरा अष्ट्रेलियामा लेखेको पनि सम्झिए । दीपकले सञ्चारकर्मीसँग गफिँदै भने- ‘हामीले हरेक अन्तरा लेखेपछि विदेशमा बस्नेहरुलाई पनि सुनाउँथ्यौं । सबैले राम्रो छ भनेर प्रशंसा गर्नुभएको थियो । निर्मात्री पुनम दिदीलाई पनि गीत मनपर्‍यो ।’ निर्मात्री पुनमले गीतको पखाई लामो भए पनि राम्रो बनेकोमा खुसी व्यक्त गरिन् । जाम न माया जाम’ गीतमा फिल्मका लिड अभिनेता पुष्पल खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई फिचर्ड गरिने निर्देशक नेपालले बताए । अर्को वर्षको तीजमा प्रदर्शन गर्ने तयारी भइरहेको फिल्ममा रेविका गुरुङको पनि प्रमुख भूमिका रहनेछ । फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने बताइएको छ । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा फिल्म खिचिनेछ । पुनम गौतमको निर्माण रहने फिल्ममा अजय पोखरेल र राजा प्रधान निर्मातामा छन् ।