शोकमग्न बन्यो काठमाडौं , एयरपोर्ट र अस्पतालमा आफन्तको रुवाबासी

प्रकाशित मिति:

काठमाडौं – आजको दिनलाई राष्ट्रिय शोक घोषणा भएको दिन मानिएको छ । काठमाण्डुवासी मात्र हैन काठमाण्डुको वातावरण, सिंगै प्रकृति नै यदास बनेको देखिएको छ । देशले यतिखेर होनाहार, बहालवाला नौजवान मन्त्रीलाई गुमाएको छ ।

मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ । एयरपोर्टमा मृतकको शव लिन पुगेका आफन्तहरुका आँखामा आँशु बगिरहेको थियो । साथै अस्पतालमा शवको पर्खाइमा बसेका आफन्तलाई सम्हाल्न हम्मेहम्मे परिरहेको थियो ।

नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत् ताप्लेजुङको सुकेटारबाट मन्त्री अधिकारीसहित सातै जनाको शव राजधानी ल्याइएको छ । शिक्षण अस्पतालमा पोष्टमार्टम गरिसकेपछि दिउँसो ३ बजेदेखि टुँडीखेलमा मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु चिन्नसमेत गाह्रो छ । यो अवस्थामा पोष्टमार्टमका लागि समय लाग्न सक्ने भएकाले टुँडीखेलको समयतालिका प्रभावित हुन सक्ने देखिएको छ ।