देशभरका कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने नेकपाकाे निर्णय

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ। बिहीबार बिहान बसेको नेकपाको सचिवालयको बैठकले शोक प्रस्ताव पारित गर्दै देशभरका पार्टी कार्यालयमा बिहीबार पार्टीको झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालयहरुमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र २३ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको श्रेष्ठले बताए।

बैठकले ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित ७ जनाप्रति श्रद्धाञ्जली अर्पण पनि गरेको श्रेष्ठले जानकारी दिए।

बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी, पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्रीका अंग रक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र प्राधिकरणकै ध्रुव भोचिभैयाको मृत्यु भएको थियो। बैठकले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ।