काठमाडौं – प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज निर्णय गर्दैछ । संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्ने निर्णय भने आज मात्र गर्न लागेको हो ।
हिजोको बैठकमा जोशीलाई सांसदले झण्डै २ घण्टा विभिन्न प्रश्न सोधेका थिए । उहाँले आफ्ना प्रश्नहरुको अति संक्षिप्त मात्र जवाफ दिएको र केही प्रश्नको उत्तर तोडमोड गर्ने प्रयास गरेको भन्दै सबै सांसदले चित्त नबुझाएपछि समितिले आज मात्र निर्णय गर्ने गर्न लागेको हो ।
जोशीको नाम अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ । नाम अनुमोदन भए नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ । १५ सदस्यीय समितीमा नेकपाका ९ र संघीय समाजबादी फोरमका एक गरि सत्तारुढ दलका १० जना सांसद छ भने कांग्रेसका ४ र राजपाका एकजना सांसद छन् ।