धेरैलाई थाहा थिएन, गीत पनि लेख्थे रवीन्द्र ! जोमसोमै बजारमा १२ बजे हावा सरर….

प्रकाशित मिति:

काठमाडौं – सरल स्वभावका रवीन्द्र अधिकारी एक राजनीतिज्ञ मात्र थिएनन् । उनी साहित्यको चेत भएका व्यक्ति पनि थिए । गीत र कविता लेखनमा उनको रुची थियो । रवीन्द्रले थुप्रै गीत लेखे ।  आफुले पनि गाए ।उनका गीत सँगै हिँड्ने साथीभाइले पनि गाए । तर रेकर्ड भने हुन पाएनन् ।  दुई दशक अघि एउटा पप गीत धेरै नेपालीको जिब्रोमा झुन्डिएको थियो । जोमसोमै बजारमा, १२ बजे हावा सरर…। त्यतिबेलाका युवा पुस्तामाझ चर्चित यस गीतका सर्जक थिए रवीन्द्र । उनले लेखेको यही गीतमा केही परिमार्जन गर्दै अमृत गुरुङले गाए । पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति रहेको समयमा रवीन्द्र अधिकारी सहितको टोली सांस्कृतिक कार्यक्रमको सिलसिलामा मुस्ताङ पुगेको थियो, २०४७ सालको चैत्रमा । पोखराबाट आरएनएसीको ट्वीनअटर विमान चढेर मुस्ताङ गएको टोलीले सांस्कृतिक कार्यक्रमको सिलसिलामा एक हप्ताको समय त्यतै बितायो ।

पोखरेली सांस्कृतिक टोली एक दिन जोमसोमको होटलमा खाना खान बसेको थियो मध्याह्न १२ बजेको समयमा । त्यही बेला बेजोडले हावा चल्यो । सांस्कृतिक कार्यक्रमको सिलसिलामा गएकाले उनीहरू हिँड्दा, डुल्दा जतिबेला पनि गीत गाउँथे । जोमसोममा होटलमा बसिरहेको समयमा बेजोड हावा चल्दा रवीन्द्रले कवितात्मक लयमा केही शब्द उच्चारण गरे । अन्य साथीहरूले केही शब्द थपे र आधा घण्टामा गीत तयार भयो ।

जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर, घर हाम्रो पोखरा

केही शब्द तलमाथि गरेर सांगीतिक समूह नेपथ्यले गाएपछि त्यो गीत एकाएक चर्चित भयो । शुरूमा तयार गरिएको गीतमा मायाप्रीतिको भाव समावेश गरिएको थिएन, क्रान्तिकारी भाव थियो ।
‘त्यो डाँडा छेक्यो कुइरोले
आज पानी परेन लै बरी लै
देशै खायो गाउँघरको जालीले
उठौं अब सबै लै बरी लै’

त्यसमा पछि अहिलेसम्म भा’छैन घरबार’ भनेर थपियो । यम गुरुङ, रक्षा गुरुङ (संगीत), सीता गुरुङ, वीरेन्द्र केसी लगायत एक दर्जन सदस्यको टोली थियो । त्यो उनीहरुकोे सामूहिक रचना बन्यो । कारण, त्यतिबेला बनाइएका सबै गीत सबैको सामूहिक रचना हुन्थ्यो । नेपालमा एफएम रेडियोको विकास भइनसकेको बेला २०५० को दशकमा त्यो गीत सर्वाधिक बज्ने गर्दथ्यो र अहिले पनि बजिरहेको छ । जिन्दगी सलल बगेको पानी हो । लोक–पप लयको यो गीत युवाहरूको ओठमा झुण्डिएको छ ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि पोखरामा पृथ्वीनारायण (पीएन) कलेजको सांस्कृतिक टोलीको लोकप्रियता कास्की जिल्लामा मात्र नभई आसपासका जिल्लामा समेत फैलिएको थियो । पोखरामा पीएनको भव्य सांस्कृतिक टीम थियो । त्यतिबेला रवीन्द्र अखिलको जिल्ला अध्यक्ष पनि थिए ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा हिँड्ने बेला रवीन्द्रले अरू कैयौं गीत लेखेका थिए, तर ती गीत रेकर्ड गरिएका छैनन् । रेकर्ड नगरिएको मात्र होइन, अब त रेकर्डमा पनि छैनन् । सांस्कृतिक अभियानको दौरानमा लेखिएका दर्जनौं गीत र कवितासहितको डायरी हराएपछि रवीन्द्रका जनवादी गीत त्यसै बिलाए ।

२०४४ सालतिर उनका सम्पूर्ण रचना भएको डायरी हराएपछि भने गीत लेखनमा रुची कम हुँदै गयो  कास्कीको शान्ति उदय मावि भरतपोखरीमा कक्षा ८ मा पढ्दादेखि नै रवीन्द्र अखिलको राजनीतिमा लागेका थिए । स्कूल पढ्दादेखि नै उनी सांस्कृतिक कार्यक्रममा भाग लिने गर्दथे । त्यसबेला उनी महिलाको भेषमा नाच्ने गर्दथे । पञ्चायती व्यवस्थाविरुद्ध सांस्कृतिक कार्यक्रममार्फत् जनतामा चेतना फैलाउन त्यस समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो । पछि क्याम्पस पढ्न थालेपछि रेकर्ड भएका अर्काको गीतलाई आधार बनाएर जनवादी शब्दमा गीत लेख्दथे । आफैं लय खोज्न संगीत भर्न नसकिने भएकाले उनी चलेको गीतमा जनताका क्रान्तिकारी र जनवादी शब्दहरू घुसाएर गीत बनाउँथे ।

सिम्लेमाथि वन
सिमल भुवा झैं उड्छ मेरो मन
ढिँडो खानु गुन्द्रुकको झोलसित
बित्यो जीवन दुखिया चालसित
गरीब खेतैमा,
गरीब खेतैमा, धनी जेटैमा
गरीब भोको पेटैमा

त्यसबेलाको अखिल भूमिगतकालको माओवादी जस्तै क्रान्तिकारी थियो । उनीहरूका गीत वर्गीय विभेदविरुद्ध लक्षित हुन्थे । मालेको प्रभाव बढ्दो थियो, प्रगतिशील प्रभाव परेको थियो ।

सेती बगरमा
गरीब बगरमा
धनी महलमा
यस्तै भावका गीत हुन्थे । संस्कृतिमार्फत जनचेतना जगाउन कास्कीका १५ स्कूलमा सांस्कृतिक कार्यक्रम हुन्थे । विद्यालय जीवनमा पनि रवीन्द्र धेरै स्कूलमा पुगेका हुन्थे । आजकलजस्तो घरैपिच्छे विदेश जाने प्रचलन नभएपनि पश्चिम नेपालबाट रोजगारीका लागि भारत जानेको कमी हुँदैनथ्यो । विदेश जाने होइन, स्वदेशमै काम गर भन्दै विदेशमा जागिर खान चाहने लाहुरे दाइलाई रोक्न आग्रह गरिएको गीतमा गाउने र नाच्ने गर्दथे रवीन्द्र ।
परदेश जाने परदेशी दाजु
नराम्रो देखें परदेश जानुमा
२०४६ सालमा प्रजातन्त्र नआउँदै रवीन्द्रहरूले राजतन्त्रविरुद्ध गीत गाएका थिए, ‘राजबन्दी छाडिदे, पञ्चे सरकार, थापा सरकार’ भन्दै । २०३७–३८ सालमा, केपी ओलीहरू जेलमा थिए । सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । सूर्यबहादुरविरुद्ध अनेरास्ववियुले गीत बनाएको थियो ।