रुपन्देही सुपर लिग, डिभिजन ‘ए’का खेल सुरु

प्रकाशित मिति:

रुपन्देही/रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुबारबारबाट डिभिजन ‘ए’का खेलहरु सुरु भएका छन् । शुक्रबार भएको डिभिजन ‘ए’अन्तर्गत समूह डीको पहिलो खेलमा श्रीशिवशक्ति क्रिकेट क्लब, भैरहवाले शंकरनगर क्रिकेट क्लब, शंकरनगरलाई ३ विकेटले पराजित गरेको छ । जितका लागि शंकरनगरबाट पाएको ९८ नरको झिनो लक्ष्य श्रीशिवशक्तिले ३० ओभर ३ बलमा ७ विकेटको क्षतिमा ९९ रन बनाउँदै भेट्टायो ।

उसका लागि सिद्धान्तराज शाहीले ३५, विष्णु कटरियाले नटआउट २६ रनको योगदान दिए । बलिङमा शंकरनगरका रवि क्षेत्रीले ४, संदीप सुनारले २ तथा अनिल खरेलले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा २९ ओभर ३ बलमा सबै विकेट गुमाई जम्मा ९८ रन मात्रै बनायो । उसका लागि पुरन विकले २२, तुलबहादुर थापाले १६ र अजय कौशिल्याले ११ रन बनाए । बलिङमा श्रीशिवशक्तिका कृष्ण कार्की, सिद्धान्तराज शाही, हरजित सिंह, यम क्षेत्रीले समान २÷२ तथा अक्तर हुसेनले १ विकेट लिए ।खेलमा सिद्धान्तराज म्यान अफ दी म्याच घोषित भएको खेल संयोजक तथा आयोजक संस्थाका उपाध्यक्ष धिरज अधिकारीले बताए ।

शनिबार डिभिजन ‘ए’अन्तर्गत समूह एमा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब, बेलहिया र प्रोफेसनल मास्टर्स ११, भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । चैत ६ गतेसम्म चल्ने लिगमा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।