गोदामचौर बलात्कार घटनाका दोषीलाई दश वर्ष जेल

प्रकाशित मिति:

काठमाडौं – ललितपुरमा एक वर्ष पहिले भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनाका तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको ललितपुर जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानुनी व्यवस्था छ ।

पीडितको सनाखत र कागज किटानीका आधारमा फैसला भएको श्रेस्तेदार तिवारीले जानकारी दिए । अनुसन्धानका क्रममा प्रहरीले १५ जनालाई लाइनमा राखेर सोध्दा पीडितले सिलवाल, कुँवर र कार्कीको पहिचान गरेकी थिइन । उनीहरूमाथि २१ वर्षीय गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएका थिए । पीडितको साथमा भएको व्याग, पैसा, गरगहना लगायतका सामग्री पनि अभियुक्तहरूले चोरेर भागेका थिए ।

माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर २०७४ विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् । उनको एक सातापछि बल्लहोस् आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् । पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । उनको हात पनि टुक्रा टुक्रा परेको थियो । घट्ना भएको १६ महिनापछि पनि उनीको उपचार जारी छ । यसअघि जिल्ला अदालतका न्यायधीश बालमुकुन्द दवाडीले अपराधीलाई उन्मुक्ति दिन फैसला गरेका थिए । त्यो फैसला उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र किशोर सिलवालको संयुक्त इजलाशले उल्टाएपछि मुद्दा अगाडि बढेको हो । घटनापछि पीडित परिवार विस्थापित छन् ।