मानवतस्करीमा दलालको हतियार ‘फेसबुक, भाइबर, इमो र ह्वाट्सयाप’

प्रकाशित मिति:

बीबीसी-  गएको माघ तेस्रो साता म्यान्मारको बाटो हुँदै विभिन्न अरब मुलुकमा पठाइन लागेको अवस्थामा पूर्वोत्तर भारतको मणिपुर राज्यका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरियो। नेपाल र भारतमा अवैध मानव ओसारपसारविरुद्ध काम गर्ने गैरसरकारी संस्थाहरूको पहलमा भारतीय प्रहरीले उनीहरूको उद्धार गरेको थियो। उद्धार गरिएकामा ३२ पुरुष र १ सय ४७ महिला गरी १७९ जना नेपाली थिए। उनीहरूलाई हाल काठमाण्डू ल्याइएको छ र परामर्शका लागि विभिन्न आश्रयगृहमा राखिएको छ।

सुइँको – तर उद्धारकर्ताहरूका भनाइमा ‘हालसम्मकै एउटा ठूलो र जटिल’ मध्येको एक उक्त घटनाका मुख्य योजनाकार र नाइकेबारे न भारतीय प्रहरी न त नेपाल प्रहरीले नै सुइँको पाउन सकेको छ। उद्धारको पहल गर्ने नेपाल र भारतका गैरसरकारी संस्थाहरूले पनि ठूलो सङ्ख्यामा नेपालीलाई मणिपुर पुर्‍याउने उक्त समूहबारे खासै जानकारी बटुल्न सकेका छैनन्। उक्त घटनाको अनुसन्धानमा संलग्नहरू भन्छन्, “पीडितहरूले दलालबारे केही बताउन चाहिरहेका छैनन्, कतिपयलाई त दलाल को हो भन्ने पनि थाहा छैन।”

मणिपुर घटनामा जस्तै अन्य उस्तै प्रकृतिका घटनामा पनि पीडित फेला पर्ने र उनीहरूको उद्धार हुने तर दलालहरू फेला नपर्ने गरेको स्वयम् प्रहरी अधिकारीहरू स्वीकार्छन्। उनीहरूका भनाइमा यसरी दलाल फेला नपर्नुका पछाडि पीडितको असहयोग, सूचना प्रविधिको प्रयोग गरी दलालले आफ्नो परिचय गोप्य राख्नु, धेरै देशका दलाल संलग्न हुनु, मानवतस्करी हुने बाटोमा पर्ने मुलुकका अधिकारी र प्रहरीसँग मिलेमतो हुनु लगायतका कारण रहने गरेका छन्।

खुल्न चाहदैनन् पीडित – नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार हाल धेरैजसो अवैध मानव ओसारपसारको घटना वैदेशिक रोजगारीका नाममा हुने गरेको छ। वैदेशिक रोजगारीका नाममा हुने अवैध मानव ओसारपसारका पीडितमध्ये धेरैले दलालबारे खुलेर जानकारी नदिने गरेको उनले बताए। सुवेदी भन्छन्, “पीडितले पीडित भएको नै ठान्दैन त्यसले गर्दा पनि उनीहरू खासै खुलेर दलालको जानकारी दिन पाउँदैनन्। यो एउटा ठूलो चुनौती बनेको छ।” मणिपुरबाट उद्धार गरिएकाहरूले पनि खुलेर दलालको जानकारी दिएका छैनन्।
मणिपुरबाट बसमार्फत् नेपाल ल्याइएका पीडितहरूसँग झण्डै दुई दिन उनीहरूसँगै यात्रा गरेका माइती नेपालका अध्यक्ष विश्वराम खड्का पनि पीडितले दलालको जानकारी नदिएको बताउँछन्। उनी भन्छन्, “पीडितलाई दलालबारे केही थाहा नभएको त पक्कै होइन, तर उनीहरू खुलेर दलालबारे जानकारी दिन चाहिरहेका छैनन्। उनीहरूलाई दलालले ‘हाम्रो नाम लिए तिमीहरू त फस्छौ-फस्छौ विदेश पनि जान पाउँदैनौ र पैसा पनि डुब्छ’ भनेकाले हुनसक्छ।”

खड्काका अनुसार धेरै पीडितले आफूहरू ठगिएको र अवैध गतिविधि गर्नेहरूबाट पीडित बनेको भन्ने ठान्दैनन्। उनीहरू गलत बाटोबाट जाँदा खतरा रहेको थाहा भए पनि धेरै पैसा कमाउने लोभले दलालको बहकाउमा लागेको हुनसक्ने खड्काको अनुमान छ।

दलालको झूटो विवरण – अवैध मानव ओसारपसारमा संलग्नहरूले प्राय: पीडितलाई झूटो विवरण दिने गरेकाले पनि अभियुक्त पक्राउ पर्न समस्या हुने गरेको प्रहरी अधिकारीहरू र उद्धारमा संलग्नहरू बताउँछन्। खड्का भन्छन्, “झूटो विवरण दिएर फसाउने प्रवृत्ति पुरानै हो। धेरैजसोले अहिले पनि त्यस्तै गर्ने गरेकाले उनीहरूको खोजी सहज हुँदैन।” कतिपय पीडितले दिएका विवरणका आधारमा खोजी गर्दा दलालहरूको नाम र ठेगाना गलत देखिएका कैयौँ उदाहरण रहेको प्रहरीको भनाइ छ।

दलालहरूले प्रहरीबाट बच्नका लागि नै यस्तो गर्ने गरेको अधिकारीहरू बताउँछन्। उनीहरूको अनुभवमा कुनै पनि दलालले पीडितसँग धेरै समय बिताउने गर्दैनन्।एक स्थानबाट अर्को स्थानमा लानका लागि दलालहरूले फरक व्यक्तिको प्रयोग गर्ने गरेकाले पनि पीडितलाई कुन व्यक्ति मुख्य हो भन्ने थाहा नहुने गरेको पनि देखिएको यस्ता घटनाका अनुसन्धान गर्नेहरू बताउँछन्।

प्रविधिको प्रयोग –  पछिल्ला वर्षमा भने दलालहरूले इन्टरनेट र स्मार्टफोनको प्रयोग गरेर पीडितलाई मात्रै नभइ प्रहरीलाई समेत झुक्याउने गरेको अधिकारीहरू बताउँछन्। प्रहरी प्रवक्ता सुवेदी भन्छन्, “अचेल सबैभन्दा धेरै सामाजिक सञ्जालको प्रयोग भएको देखिन्छ। त्यसले दलालहरूको खोजीलाई थप जटिल बनाइदिएको छ।” उनका अनुसार नेपालबाट विभिन्न मुलुकमा देहव्यापारका लागि विक्री गरिएका महिलाहरूलाई समेत सामाजिक सञ्जालबाट फसाइएको पाइएको छ। उनले भने, “सामाजिक सञ्जालमा फेक आइडी बनाएर युवतीसँग सम्पर्क स्थापित गर्ने अनि उनीहरूलाई फोटो सेसन गरेर तस्वीर पठाउन लगाउने तर त्यही तस्वीर विदेशमा रहेको दलालाई पठाउने गरेको पनि पाइएको छ।” कतिपय अवस्थामा त्यसरी पठाइएका तस्वीर हेरेर यौन व्यवसायका लागि नेपाली महिलाको छनोट हुने गरेको उनले बताए।

त्यसरी विदेशमा रहेका दलालले छानेका नेपाली महिलालाई राम्रो रोजगारीको बहानामा खाडी र अफ्रिकी मुलुकमा समेत पुर्‍याइएका घटना प्रहरीमा आउने गरेका छन्। तर खोजी गर्दै जाँदा जसको नाममा सामाजिक सञ्जालमा खाता खोलिएको हुन्छ उसको विवरण झूटो हुने गरेको सुवेदीले बताए। खाडी मुलुकमा कामदारकै रूपमा नेपालीलाई पठाउने दलालहरूले पनि अचेल सामाजिक सञ्जालको सहारा लिने गरेको अधिकारीहरू बताउँछन्। त्यसका लागि सबैभन्दा धेरै फेसबुक म्यासेन्जर, इमो, भाइबर र ह्वाट्सयापजस्ता एपहरू प्रयोग हुने पाइएको बताइन्छ। दलालहरूले पीडितलाई कहाँबाट कतिबेला कसरी जाने भन्ने निर्देशनहरू यस्तै एपहरूबाट पठाउने गरेको विभिन्न अनुसन्धानमा खुलेको देखिन्छ।त्यस्तै हवाई र रेल टिकट पठाउनदेखि गैरकानुनी मानिने हुण्डीमार्फत् पैसा लिनका लागि सङ्केत नम्बरहरूको आदानप्रदान समेत यस्तै एपहरूबाट भएको भेटिएको सुवेदीले बताए।

मणिपुरबाट नेपालीहरू खाडी मुलुक पठाइँदैछन् भन्ने सूचना प्राप्त गर्नका लागि पनि दिल्लीबाट उद्धार गरिएकामध्ये एक नेपाली युवतीको मोबाइलमा रहेको इमो सन्देश सहायक बनेको थियो। त्यसलाई पुष्टि गर्दै दिल्लीको उक्त उद्धारमा सम्लग्न दिल्ली महिला आयोगले गत माघ १८ गते जारी गरेको एउटा विज्ञप्तिमा भनेको छ, “उनीहरूलाई कसैले इमोमार्फत् कहाँ र कसरी जाने भनेर बताउने गरेको थियो।” सामाजिक सञ्जालका साथै कतिपय दलालले फोनबाटै समेत महिलाहरूलाई फसाएर विभिन्न स्थान पुर्‍याइ अलपत्र पार्ने गरेको भेटिने गरेको छ। गत असारमा पश्चिम नेपालकी एक महिलालाई ‘ब्लफकल’ गरेर एक दलालले कुवेत पठाइदिने बहानामा भारत पुर्‍याएको पाइएको थियो। ती महिलाले भारतबाट भागेर नेपाल आइ स्थानीय प्रशासनमा जानकारी दिएपछि त्यही सूचनाका आधारमा दिल्ली महिला आयोगले १६ नेपाली महिलाको उद्धार गरेको थियो।

किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै फेसबुक – के ट्विटर र फेसबुक नेपालमा दर्ता हुन आउलान् बालबालिकालाई बेलुकी मोबाइल र टिभी अनुचित

चुनौती– पछिल्ला प्रविधिको प्रयोग गर्दै दलालहरूले विशेषगरी नेपाली महिलालाई फसाउने गरेकाले त्यस्ता दलालको खोजी चूनौतीपूर्ण बन्न पुगेको प्रहरीको दावी छ। प्रहरी प्रवक्ता सुवेदी सामाजिक सञ्जालबाट हुने कुराकानीका आधारमा महिलाहरूले ठूलो रकम बुझाएर वैदेशिक रोजगारीमा जाने नाममा आवैध बाटो अपनाउने गर्छन्। उनीहरू ठगिएपछि वा विभिन्न मुलुकमा पुगेर अलपत्र परेपछि उद्धार गरिए पनि दलाल भने सजिलै उम्किने गरेका छन्। उनका अनुसार अधिकांश महिलासँग हुने कुराकानीमा प्रयोग गरिएका सामाजिक सञ्जालका खाताहरू झूटा हुने गरेका छन्। कतिपय खाताका विवरण भने सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले सहजै उपलब्ध नगराउने भएकाले थप जटिलता निम्तेको उनको तर्क छ।

कति दलाल पक्राउ परे? नेपाल प्रहरीका अनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा कुल १७९ जना पीडितले प्रहरीमा मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता गराएका छन्। त्यसमा भारतलगायत मुलुकहरूबाट उद्धार गरिएका सबैको विवरण सामेल छैन। कतिपयले उजुरी दर्ता नगराएकाले पनि उद्धार गरिएका सबैको विवरण त्यसमा नसमेटिएको हो। गत आर्थिक वर्षभरमा भने ५ सय ४६ वटा यस्ता उजुरी आएका थिए। गएको एक वर्षमा दिल्ली महिला आयोगले दिल्लीबाट मात्र ९७ जना नेपाली महिलाको उद्धार गरेको जनाएको छ। तर उनीहरूलाई दिल्ली पुर्‍याउनेमध्ये केही दलाल मात्र पक्राउ परेको आयोगले जनाएको छ। नेपाल प्रहरीका अनुसार भने पीडितको उजुरीका आधारमा चालू आर्थिक वर्षको पुससम्ममा २ सय १७ जना दलालको पहिचान भएको छ। तर त्यसमध्ये १ सय १५ जनालाई मात्र पत्ता लगाउन प्रहरी सफल भयो। पत्ता लागेकामध्ये केही पक्राउ परेका छन् भन् केहीविरुद्ध मुद्दा मात्र लगाइएको छ। कतिपय धरौटीमा छुटेका छन्। गत वर्ष पनि ६२९ जना अभियुक्तमध्ये ३०९ जना मात्र पत्ता लगाउन प्रहरी सफल भएको थियो।