नेपाल विद्यार्थी संघ नेतृत्वमा महिला आकाँक्षी पनि आधा दर्जन भन्दा वढी

प्रकाशित मिति:

काठमाडौं। नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व छनोटका लागि नेपाली कांग्रेसले खोजि कार्यलाई तिव्रता दिएको छ। १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि पटक पटक म्याद थप गरे पनि महाधिवेशन हुन नसकेपछि तत्कालिन अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्वको खोजी कार्यलाई कांग्रेस नेताहरुले तिव्रता दिएका हुन्। संघलाई थप उर्जाशिल बनाउँदै महाधिवेशन सम्पन्न गर्न सक्ने नेतृत्व सहितको तदर्थ समिति गठनका गर्नलाई नेपाली कांग्रेसले गृहकार्य शुरु गरेको बताइएको छ। नेपाल विद्यार्थी संघको तदर्थ समितिको नेतृत्वका लागि उमेर हदबन्दी लगाउने कि नलगाउने भन्ने बहस चलिरहेको बेला नयाँ नेतृत्व चयन कांग्रेसका लागि कठिन बन्दै गएको छ। उमेर हदबन्दीका पक्षधरहरुले ३२ वर्ष मुनीका विद्यार्थीलाई नेतृत्वमा ल्याउनु पर्ने धारणा राख्दै आएका छन्। अर्कोतिर विद्यार्थीका लागि कुनै उमेरको हदबन्दी नहुने भन्दै नेतृत्वमा पनि सबै उमेर समुहका विद्यार्थीलाई सामेल गराउन सकिने तर्क राख्दै आएका छन्। यो बहससँगै नेतृत्व छनौटमा फरक फरक मतहरु देखिएका छन् ।

नेतृत्वमा महिला आकाँक्षी पनि आधा दर्जन भन्दा वढी
नेपाल विद्यार्थी संघको स्थापनाकालदेखि हालसम्मका महाधिवेशनले चयन गरेका र मातृ पार्टी नेपाली काँग्रेसका नेतृत्वले चयन गरेको सबैजसो नेतृत्व पुरुषहरुले नै गरेका छन्। महिलालाई नेतृत्वमा उचित स्थान दिने सबै जसो संगठनको नीति भए पनि नेविसंघमा हालसम्म महिलाको हातमा नेतृत्व परेको छैन। महिला नेतृहरु उपाध्यक्ष महामन्त्री, कोषाध्यक्ष र सदस्यको जिम्मेवारीमा आएपनि नेविसंघको अध्यक्षको जिम्मेवारीमा भने पुग्न सकेका छैनन। यस पटक भने महिला नेतृहरु नेविसंघ हाक्ने जिम्मेवारी महिलाले पाउनु पर्ने भन्दै लागिपरेका छन्। पुरुष जतिकै आफुहरु पनि संगठनलाई चलायमान बनाउन सक्षम भएको दावि उनीहरुको छ। पुरुषले भन्दा महिलाले संगठनलाई अझ सशक्त बनाउन सक्ने उनीहरुको भनाइ छ। नेविसंघको नेतृत्व ३२ वर्ष माथिको या तल्लो उमेर समुहले पाउने भन्ने विवाद नसुल्झिए पनि महिला नेतृहरुले ३२ वर्ष तल माथि दुवैतिर नेविसंघको नेतृत्व गर्ने पंक्ति तयार रहेको जीकिर गर्दै आएका छन्। नेविसंघको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाउनु पर्ने भन्दै कृष्ण कुमारी बस्नेत, जानुका पन्त, निमा गिरी, कौशिला भट्ट, सम्झना खत्री, अम्बीका चलाउने, रमा थापा, जमुना ढकाल लगायतका नेतृहरु अगाडी सरेका छन्। यि मध्ये पनि पार्टीको संस्थापन पक्ष अर्थात सभापति शेर बहादुर देउवा निकट रहेकाहरु कृष्णकुमारी बस्नेत, कौशिला भट्ट, सम्झना खत्री, अम्बीका चलाउने, रमा थापा, जमुना ढकाल लगायत अध्यक्ष बन्ने रेसमा अगाडी देखिएका छन्।

महिला आकांक्षीहरुको पृष्ठभुमी के
पशुपति बहुमुखी क्याम्पस चाबहिलको स्ववियू कोषाध्यक्ष, उपाध्यक्ष हुँदै नेपाल विद्यार्थी संघ एकाई अध्यक्षको जिम्मेवारीसँगै खटिएकी कृष्णकुमारी भरखरै विगठित केन्द्रीय समितिको उपाध्यक्ष हुन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी कृष्णकुमारीले आफुलाई उपाध्यक्षको जिम्मेवारीले खारेको भन्दै नेविसंघको नेतृत्व अब पाउनु पर्ने दावी गर्छिन। महिलालाई एकपटक संघको नेतृत्व दिएर गतिशिल नेविसंघ बनाउने बाटोमा सहयोग गर्न नेतृत्व तहलाई उनले आग्रह गरेकी छिन्। त्यसैगरी पद्यकन्या बुहुमुखी क्याम्पस बागबजारको नेविसंघ एकाई समिति, अध्यक्ष, केन्द्रीय समिति सदस्य हुँदै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी कौशिला भट्ट डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका प्रमुखका रुपमा निर्वाचित जनप्रतिनिधि हुन्। संगठनमा निरन्तर सक्रिय भट्टले नेपाली विद्यार्थी फाँटमा महिलाको वाक्लो उपस्थितिसँगै नेविसंघको नेतृत्वमा महिला आउनु पर्ने तर्क राख्छिन् । नेतृत्वतहलाई उनले महिलाको नेतृत्वमा मात्र संघमा देखिएका गुट र उपगुटलाई चिर्न र महाधिवेशन सम्पन्न गर्न सकिने भन्दै महिलालाई नै नेतृत्वमा पुर्‍याउन आग्रह गरेकी छिन्। उमेरहरुका कारण ३२ वर्ष कमकालाई नेतृत्वमा लैजाने हो भने पनि हामी तयार छौं उनले भनेकी छिन्। त्रिभुवन विश्वविद्यालय किर्तिपुरकी एकाई अध्यक्ष सम्झना खत्रीले महिला नेतृत्वलाई नै स्थापित गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै आएकी छिन् । आफु केन्द्रिय अध्यक्षका लागि तयार रहेको भन्दै संघको नयाँ इतिहास रच्न पनि महिलालाई नेतृत्व दिनु पर्नेमा उनले जोड दिइन। त्यसैगरी पद्यकन्या बहुमुखी क्याम्पसकी इकाई समिति सदस्य, सचिव हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी रमा थापाले नेविसंघको नेतृत्व गर्न आफु तयार रहेको बताएकी छन्। विद्यार्थीहरुका शैक्षिक मुद्दा, देशमा जीवन उपयोगि शिक्षाका लागि अब महिलाले नेपाली विद्यार्थीहरुको दरिलो संगठन नेविसंघको नेतृत्व लिनु पर्नेमा जोड दिन्छिन् ।संगठन हाक्ने विषय उमेरले होइन विचार र कार्यक्रमले हो त्यसैले संघलाई गतिशिल बनाउन र शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन आफु नेतृत्वमा आउनुपर्ने बताउँछिन् विद्यार्थी नेतृ अम्बिका चलाउने। अहिलेको अवस्थामा नेविसंघ भित्र पुरुष विद्यार्थी नेता मात्र होइन महिला विद्यार्थी नेता पनि नेतृत्वको दौडमा सरिक भएका छन् । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सहित संगठन हाक्ने गतिशिल नेतृत्व कसले पाउने अहिले सबैतिर अड्कल मात्र काटिएका छन्। महिलासँगै पुरुष विद्यार्थी नेता पनि दौडधुप गरिरहेको अवस्था छ। यो अवस्थामा मातृपार्टी नेपाली काँग्रेसले यस पटक महिला विद्यार्थी नेतृलाई संगठनको बागडोर सम्हाल्ने जिम्मेवारी दिएमा त्यसले नेपालको विद्यार्थी राजनीतिमा नयाँ इतिहास रच्ने मात्र होइन महिला शशक्तिकरणको नयाँ आयाम थपिने महिला नेतृतहरु बताउँछन्।हाम्राकुरा वाट साभार