कमिसन माग गर्दै ग्यास उद्योगी आन्दोलित

प्रकाशित मिति:

काठमाडौं \ ग्यास उद्योगीहरुले कमिसन बढाउन माग गर्दै आजबाट संघर्षका कार्यक्रम थालेका छन् । आफ्नो माग सरकारले सम्बोधन नगरेको भन्दै ग्यास उद्योगीहरु आजबाट सर्षघमा उत्रेका हुन् । एलपी ग्यास उद्योग संघले उद्योग संचालन खर्च र विक्रेता वितरकको कमिसन समायोजन लगायतका माग पूरा नभएकाले संघर्षमा उत्रनु परेको जनाएको छ । आफूहरूको माग प्रति सरकार उदासिन देखिएको भन्दै संघले आज प्रडक्ट डेलिभरि अर्डर पीडीओ उठाएका छैनन् । निजी स्वार्थको लागि उद्योगीले पीडीओ नउठाउँदा बजारमा ग्यास अभाव हुन थालेको छ । उद्योगीको मागमा ग्यास विक्रेताले समेत साथै दिंदै बिक्री डिपो बन्द गरेका छन् । संघले फागुन ८ गते पत्रकार सम्मेलन गरी आजबाट लागू हुने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।

संघले आगामी २२ गते देखि ग्यास आयात गर्ने सबै रिफाइनरीबाट एलपी ग्यास लोडिङ नगर्ने, फागुन २५ गतेदेखि ग्यास लोड भएका बुलेट सबै भन्सार नाकाबाट नछुट्ने लगायत विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । यस्तै, फागुन २८ गते देखि देशभरका ग्यास उद्योग पूर्ण रूपमा बन्द गर्ने र फागुन ३० गते देखि सम्पूर्ण विक्रेताबाट ग्यास बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीले आफूहरुको माग सम्बोधनका लागि सरकारको पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको भन्दै आफूहरू आन्दोलनमा उत्रनु परेको बताउनुभयो । नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले उद्योगीको माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । नयाँ उद्योग संचालनका लागि दिईएको अनुमति खारेज गर्नुपर्ने, तराईका सीमित उद्योगका लागि फरक बिक्री मूल्य कायम गरिएको भन्दै सबै स्थानमा समान बिक्री मूल्य कायम हुनुपर्ने ग्यास उद्योगीको माग छ । यस्तै, नेपाली ग्यास बुलेट सञ्चालन हुन नसकेको भन्दै कुनै पनि बेला ग्यास आपूर्ति बन्द हुन सक्ने भएकाले नेपाली ग्यास बुलेट सञ्चालनका लागि कूटनीतिक पहन गर्न संघले सरकार समक्ष माग गरेको छ । एलपी ग्यासको मासिक कोटा हरेक ६ महिनामा निर्धारण गर्नुपर्ने नीति अनुरूप प्रमाणीकरण भएका सिलिण्डरको आधारमा तत्काल कोटा थप गर्नपर्ने, बीमा सम्बन्धी आवश्यक नीति तत्काल कानूनमा व्यवस्था हुनुपर्ने लगायत माग संघको छ ।