आरक्षण कार्यान्वयन गर्न रुपन्देहीका महिलाहरु सक्रिय

प्रकाशित मिति:

भैरहवा \ सार्वजनिक यातायातमा यात्रा गर्ने महिला, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुको आरक्षण कार्यान्वयन गर्न महिलाहरुले सक्रियता देखाएका छन् । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा विभिन्न दर्जन संस्थाहरुको सहयोग तथा समन्वयमा नगर क्षेत्रका महिलाहरु सक्रिय भएका हुन् । नगर उपप्रमुख उमा काफ्ले नेतृत्वमा यहाँका महिलाहरुले शनिबार सार्वजनिक यातायात सेवाको अनुगमन गरेका छन् । १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नगरपालिको आयोजना तथा संघसंस्थाको संयोजनमा साताव्यापी कार्यक्रम आयोजना गरिएको छ । सोहीअनुसार शनिबार सार्वजनिक यातायातमा आरक्षण कार्यान्वयनको अवस्थाबारे अनुमगन गरिएको नगर उपप्रमुख काफ्लेले बताइन् । ‘हामीले आरक्षणसँगै प्रत्येक सवारीसाधनमा फोहोर संकलनका लागि डष्टविन राख्न तथा सवारीमा लेखिएका कोटेशनहरु महिलामैत्री, सकारात्मक र सन्देशमूलक हुनु पर्नेमा समेत सम्बद्ध चालक, कन्ट्याक्टर र व्यवसायीलाई आग्रह गरेका छौं’, उनले भनिन् । सवारीमा लेखिने कोटेशनले पनि महिलाहरुमा नकारात्मकता ल्याउन सक्ने भएकाले यसलाई विशेष प्राथमिकतामा राखी सन्देशमूलक र साकारत्मक हुनु पर्ने माग गरिएको उनले बताइन् ।

‘केही सवारीले भड्किला शब्दहरु प्रयोग गरेका छन्, ती हटाउन, यात्रुले सवारीमा बसेर विभिन्न खाद्यपदार्थहरु खाएपछि प्लास्टिक लगायतका काम नलाग्ने फोहोर झ्यालबाट बाहिर फाल्दा सरसफाईमा चुनौति थपिएको छ, यसलाई संकलन गरी तोकिएको ठाउँमा फाल्नका लागि डष्टविन पनि अनिवार्य राख्न भनिएको हो’, काफ्लेले भनिन्’, ‘जसले सुन्दरदा बढाउँछ, यात्रुमा सकारात्मकता ल्याउँछ ।’ नगरपालिकामा फागुन १५ गते बसेको बैठकको निर्णयअनुसार साताव्यापी अभियान थालिएको हो । बैठकले यहाँका प्रत्येक समितिहरुलाई निर्णय उपलब्ध गराई त्यसको कार्यान्वयन गर्न पत्र पठाएको थियो । तर, अनुगमनका क्रममा अधिकांश सार्वजनिक यातायातमा आरक्षण कार्यान्वयन नभएको पाइएको छ । धेरै सवारीमा आरक्षण सिट नछुट्याइएको, छुट्याइएको सवारीमा पनि आरक्षण अनुसार यात्रुलाई नबसालेको, महिला, जेष्ठ नागरिक तथा अपांग सिट भनेर सिटमाथि नलेखिएको पाइएको सामाजिक अभियन्ता ज्ञानु पौडेलले बताइन् । ‘अधिकांश सवारीमा आरक्षण कार्यान्वयन नभएको देखियो, थोरैलेमात्र डष्टविनको प्रयोग गरेका छन्’, उनले भनिन्, ‘त्यस्ता सवारी चालक र कन्टक्टरलाई हामीले अभियानका बारे जानकारी गराएर मापदण्डहरु पूरा गर्न निर्देशन दिएका छौं, कार्यान्वयन भयो÷भएन पुनः निरीक्षण गर्छौं ।

पत्र पठाउँदा समेत नियम कार्यान्वयन नगर्ने सवारी नम्बर टिपोट गरिएकाले सम्वद्ध व्यवसायीलाई पुनः स्मरण गराउने सामाजिक अभियन्ता विन्द्रावती चौधरीले बताइन् । उनले भनिन्, ‘हामीले संविधानप्रद अधिकारी जसरी भए पनि कार्यान्वयन गराएरै छाड्छौं, त्यसतर्फ व्यवसायीलाई समेत हुन आग्रह गर्दछु ।’ ट्राफिक प्रहरी, जिल्ला प्रहरी र प्रशासनलाई समेत अभियानका बारे जानकारी गराइएकाले कार्यान्वयन नगर्ने सवारीलाई कारबाहीको दायरामा ल्याइने अभियन्ता राधा अर्यालले बताइन् । उनले यात्रु पनि आफू समेत हुनु पर्ने जनाइन् । साताव्यापी कार्यक्रमअन्तर्गत विभिन्न संचारमाध्यमबाट सन्देशमूलक, अधिकारका बारे सूचना प्रवाह गर्ने, निर्णय कार्यान्वयनका लागि व्यवसायीलाई दवाव, निरीक्षण, अनुगमन, सचेतनामूलक ¥याली, अन्तरक्रिया लगायत गरिएको नगरपालिकाले जनाएको छ । अभियानलाई महिला तथा बालअधिकारी जिल्ला संजाल र समुदाय प्रहरी साझेदारी कार्यक्रमले समन्व गरेका छन् । यस्तै, कार्यक्रम सफल पार्न माइती नेपाल, नमूना एकीकृत विकास परिषद्, सिद्धार्थ सामुदायिक समाज, जनउत्थान साकोस, महिला जेसिज, आफन्त नेपाल, एबीसी नेपाल लगायत दर्जन संस्था पसहयोगीका रुपमा अभियानमा जुटेका छन् ।