सिद्धबाबा दर्शनार्थीका लागि धार्मिक बस

प्रकाशित मिति:

बुटवल – सिद्धबाबा मन्दिर बिकास समिति धार्मिक बस सञ्चालनमा ल्याएको छ । मन्दिरमा दर्शनका लागि पुग्न चाहने धार्मिक पर्यटकहरुलाई लक्षित गरी निःशुल्क बस सेवा सुरु भएको हो । गत वर्षको महाशिवरात्रीबाट बचत भएको रकममा अन्य श्रोतबाट थपथाप गरेर साढे २९ लाख रुपैयाँमा समितिले नयाँ बस खरिद गरेको छ । बसले शनिबारदेखि बुटवल र आसपासबाट मन्दिरसम्म आउनेजानेहरुलाई निःशुल्क सेवा दिनेछ ।

हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगिकुटीबाट पहिलो बस छुट्नेछ । त्यसपछि टाफिकचोकबाट प्रत्येक एक घण्टाका फरकमा मध्यान्ह १२ बजेसम्म बस छुटने व्यवस्था मिलाइएको मन्दिर बिकास समितिका सदस्य तोया लम्सालले जानकारी दिए । मन्दिर विकास समितिले सुरु गरेको धार्मिक बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन । बसमा भजन कृतन र सिद्धबाबा मन्दिरसहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाईएको छ । आवश्यकता अनुसार थप बस ल्याउने सोच रहेकेा समिति का कोषाध्यक्ष तथा तिनाउ गाउँपालिका वडानम्वर ३ का वडाअध्यक्ष प्रेम पाण्डेले बताए ।