नगरस्तरीय भलिवलमा देवदह, केरवानी र कोलियको अग्रता ,शोलो बाईक रेशको फाईनल आईतबार

प्रकाशित मिति:

झविन्द्र देवकोटा बुटवल, १८ फागुन । देवदह नगर स्तरीय अन्तर विद्यालय भलिवल प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका तीन खेलहरु भएका छन् । देवदह नगरभित्र रहेका १२ विद्यालयहरु सहभागि रहेको प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा केर.वानी मावि, देवदह मावि र कोलिय इङ्गलिस बोर्डिङ्ग स्कुल विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा देवदह माविले जनप्रिय मावि भलुहीलाई २५–२०, २५–१३ र २५–२१ को सेटमा हराएको छ । यस्तै दोस्रो खेलमा केरवानी मावि खैरेनीले सरस्वती माविलाई २५–११, २५–२३ र २५–२० को सेटमा पछाडि छोड्यो भने शनिबारको अन्तिम खेलमा कोलिय बोर्डिङ्ग स्कुलले अन्नपुर्ण बोर्डिङ्ग स्कुललाई २५–१७ र २५–१४ को सोझो सेटमा हराएको खेल संयोजक कपिल गौतमले जानकारी दिए । पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर प्रदर्शनी स्थलमा भएको भलिवलका दोस्रो चरणका खेलहरु निरन्तर हुने गौतमले बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले नगद, शिल्ड तथा प्रमाण पत्र हात पार्ने आयोजकले बताएका छन् । भलिवलको उद्घाटन देवदह नगरपालिकाका उपमेयर विद्यालक्ष्मी गुरुङ्गले गरेकी थिईन् । यसैबीच आईतबार शोलो बाईक रेशको समेत फाईन खेल हुने संयोजक अमृत अर्यालले जानकारी दिए । शोलो बाईक रेशको फाईनलमा १ सय ७० जनालाई पछाडि पारेका ९ जनाले उपाधीका लागि प्रतिस्प्रर्धा गर्ने छन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद तथा मेडल प्राप्त गर्ने छन् ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका स्टलहरु रहेका छन् । मेलाको करिव ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजकले लिएको छ । मेलामा शनिबारबाट टिकट विक्रिको सुरुवात गरिएको छ । टिकट विक्रिको सुरुवात अनमोल इलेक्ट्रिकका संचालनक रामप्रसाद पन्तले गरेका हुन् । यस्तै मेलामा आईतबार देउडा गायक मनोज सिंह धामी, लोक दोहोरी गायिका सपना गाहा, आधुनिक गायक सौगात सायर साथमा स्थानीय ब्याण्डको प्रस्तुती, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, डान्स तथा सिंगीङ्ग आईडल हुने छन् ।