मसलन्द तथा शैक्षिक सामाग्री व्यवसायीलाई प्रशिक्षण

प्रकाशित मिति:

बिन्दु थापा /बुटवल – व्यवसाय व्यवस्थापन एवं प्रवद्धनका लागि भन्दै व्यवसायीलाई प्रशिक्षण दिइएको छ । मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ५ नम्बर प्रदेश समितिले आफू मातहतका उद्योगी तथा व्यवसायीलाई आज बुटवलमा प्रशिक्षण दिएको हो । तालिमको एक कार्यक्रमका बीच नेपाल मसलन्द शैक्षिक सामाग्री उद्योग संघका निवर्तमान अध्यक्ष सुनिल गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयोे । उद्घाटन कार्यक्रममा बोल्दै उहाले व्यवसायको दिगो व्यवस्थापनका लागि आवश्यक सीप सिकाउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । अहिलेको समय प्रतिश्पर्धाको रहेको भन्दै स्वच्छ प्रतिश्पर्धाका लागि गुणस्तर र क्षमता विकासमा सम्झौता गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय प्रशिक्षण विभागका संयोजक शिवराज लामिछानेले व्यवसाय संचालबारे विधि र प्रक्रिया नजान्दा हुदै गएको क्षति घटाउन यस्ता प्रशिक्षण कार्यक्रम चलाएको बताउनुभयो । कुन आधारमा कर तिर्ने र जम्मा गर्ने भन्ने समेत नजानेको बताउदै उहाले अब यस्ता कुरालाई संघ आफैले सिकाउदै जाने जानाकारी दिनुभयो । एक दिने व्यवसाय व्यवस्थापन एवं प्रवद्धन र कर तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रम संघका प्रदेश ५ अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा भएको थियो । जसमा केन्द्रिय सदस्य मेखबहादुर अधिकारी, लक्ष्मण न्यौपाने, रुद्र सुवेदी लगायतले व्यवसाय व्यवस्थापनबारे बताउनुभएको थियो ।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका मुकुन्द ज्ञवाली, नेपाल धितोपत्र बोर्डका सदस्य बाबुराम भण्डारी र रामशरण गिरीले सहजीकरण गर्नुभएको थियो । बुटवल क्षेत्रीय समिति सहआयोजक रहेको कार्यक्रममा समिति संयोजक नारायण प्रसाद न्यौपाने र प्रदेश ५ का कार्यकारी सदस्य श्रवण कुमार जयसवालले व्यवसाय संचालनमा हुने समस्याबारे बताउनुभएको थियो । कार्यक्रममा प्रदेश ५ का १२ जिल्लाका करिब ५० जना उद्योगी एवं व्यवसायी सहभागी थिए ।