रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन

धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ

प्रकाशित मिति:

चितवन \ रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन्। धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ। रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिए। चितवनबासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए।

रकम सङ्कलन गर्न विदेशमासमेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ उनले भने। रङ्गशाला निर्माण सहयोगार्थ मलेसियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको जानकारी दिए। आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ। अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए। समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागीरहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए। अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ। विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ उनले भने। रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ छ। नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए। एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले जग्गा सम्झौता गरेको थियो।रासस