देशभरको पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षकको घोषणा

प्रकाशित मिति:

काठमाडौ । आफ्ना विभिन्न पेशागत माग सहित आन्दोलनमा उत्रेका सामुदायिक विद्यालयका अस्थाई र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्।

आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत अस्थाई र राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका हुन।

आइतवार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको थियो। प्रहरी कार्वाहीमा केही शिक्षक घाइते समेत भएका छन् ।

माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरुलाई वानेश्वर पुगेपछि प्रहरीले रोकेको थियो।वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । आन्दोलनरत राहत शिक्षक दीपक सिटौलाले भने, ‘थुप्रै शिक्षक घाइते भएका छन् । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ । ’

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।