भैरहवामा प्रदेशस्तरीय ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिता सुरु

प्रकाशित मिति:

भैरहवा /चैतमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सोमबारबाट भैरहवामा प्रदेशस्तरीय ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौंमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल सुरु भएको हो । सोमबार भएको पहिलो नवलपरासीले बर्दियालाई ८ विकेटले पराजित गरेको छ ।सिद्धार्थ रंगशालामा भएको खेलमा जितका लागि बर्दियाबाट पाएको १०३ रनको लक्ष्य नवलपरासीले १३.३ ओभरमा २ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । जसमा सद्दामअली अन्सारीले नटआउट ३२, विनोद कुर्मीले २८ तथा जितेन्द्र साहनीले नटआउट २३ रन बनाए । बलिङमा बर्दियाका समिर आचार्यले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले २० ओभरको खेलमा ९ विकेट गुमाई १०२ रन बनाएको थियो । जसमा समिर आचार्यले १८, हर्षल भण्डारीले १७ र प्रकाश न्यौपानेले १६ रन बनाए । बर्दियालाई सामान्य स्कोरमै समेट्न खेलका म्यान अफ दी म्याच समेत रहेका नवलपरासीका एकलाख अहम्मदले ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिए । यस्तै, दिलिप कुर्मीले २ विकेट लिए । मंगलबार पहिलो खेल रुपन्देही र रोल्पा तथा दोस्रो खेल बाँके र अर्घाखाँचीबीच हुने छ ।

१२ जिल्ला रहेको प्रदेशमा १० जिल्लाका खेलाडी मात्रै सहभागी छन् । छनोट खेलमा प्यूठान र रुकुमले भाग लिएको छैन् । आठौंका लागि जिल्ला–जिल्लाका उत्कृष्ट १४ क्रिकेट खेलाडी छनोट गरी प्रदेश पाँचको एउटा टिम बनाइने छ । नकआउट चरणमा खेलाइने खेल फागुन २५ गतेसम्म चल्ने छ । छनोट खेलको सोमबार एक कार्यक्रमबीच प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । उहाँले राज्यले क्रिकेटसहित अन्य खेलकुदलाई विशेष प्राथमिकता दिइ अघि बढ्नु पर्ने धारणा राख्नुभयो