काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह ४ ३० बजे महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको हो । यस अवसरमा मन्दिरमा पुजारीबाट राष्ट्रपति भण्डारीले टिकारप्रसाद समेत ग्रहण गर्नुभएको थियो ।त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारी पुगेको पाँच मिनेट पछि ४ ३५ मिनेट जाँदा उपराष्ट्रपति पुनले पशुपतिनाथको दर्शन गर्नुभएको हो । उहाँले पनि पुजारीबाट टिकारप्रसाद ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदिप ढकालले जानकारी दिनुभयो ।
पशुपतिनाथमा महाशिवरात्रीको अवसर पारेर भारतबाट समेत आएका गरेर लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यस वर्ष दर्शनार्थीहरु बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सोमबार रातिसम्म करिव ११ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।मन्दिर प्रवेशका लागि दर्शनार्थीहरुलाई मित्रपार्क, जयबागेश्वरी र पिंगलास्थानबाट व्यवस्था मिलाइएको छ भने भित्र पुगेपछि पाँच वटा लाइनको व्यवस्था गरिएको पनि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले बताउनुभयो ।