देवदहको माटोमा उर्वरा शक्ति हराउदै, प्राङ्गारिक मलको प्रयोग गर्न विज्ञको सुझाव

प्रकाशित मिति:

झविन्द्र देवकोटा,बुटवल, २१ फागुन । रुपन्देहीको देवदहमा संचालन भईरहेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा राखिएको माटो परीक्षण शिविरमा झण्डै डेढसय जनाले आफ्नो माटोको नमुना परीक्षण गराएका छन् । परीक्षण गराएको अत्याधिक माटोको नमुनामा माटोको उर्वरा शक्ति ह्रास देखिएको छ । कृषिको पकेट क्षेत्रका रुपमा चिनिएको देवदह क्षेत्रको माटोको नमुना परीक्षण गर्दा उर्वरा शक्तिमा ह्रास आउने दुखद् विषय भएको देवदह नगरपालिका कृषि शाखाका माटो विज्ञ अश्विनी कुमार शर्माले जानकारी दिए । माटो परीक्षण शिविरमा नमुना परीक्षण गरिएको माटोमा माटोको प्रतिकृया पीएच तटस्थ, पोटास, नाईट्रोजन, फासफोरश मध्यम देखिएकाले प्रांगारिक मलको मात्रा बढाउनु पर्ने सुझाव माटो विज्ञ शर्माले दिए । माटोको उर्वराशक्तिमा ह्रास आउने र अन्नबाली, खाद्यान्न, तरकारी तथा फलफुलको उत्पादनमा कमि आउने उनको भनाई छ । उनले उर्वराशक्ति बढाउनका लागि प्रांगारिक मलको मात्रा माटोमा बढाउनेतर्फ ध्यान दिनु पर्ने बताए । रसायनिक मलले कमि रहेको माटोको पोषक तत्व बढाएतापनि त्यो दिर्गकाल नहुने विज्ञको सुझाव छ ।

शिविरमा माटोविज्ञ शर्मा र कृषि शाखाका नायव प्राविधिक सहायक पविन्द्रकुमार मल्लले माटोको नमुना परीक्षण गरेको मेलाको कृषि प्रवद्र्धन उपसमितिका संयोजक चक्रपाणी न्यौपानेले जानकारी दिए । मेलाका माध्यमले कृषिको प्रर्वद्धन गर्नका लागि मेलामा माटो परीक्षण शिविर राखिएको मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले बताए । उनले मेलामा अन्यको जस्तै कृषि तथा कृषिजन्य उत्पादनका स्टलहरु राखिएकाले कृषकले मेलाबाट प्रत्यक्ष लाभ लिने बताए । ‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ देवदहमा लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सयबढी स्टलहरु सहभागि भएका छन् । फागुन २८ गतेसम्म संचालन हुने मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजकले गरेका छन् । मेलामा सेल्फि स्टेशन, ठुलो आकारको खुकुरी, विज्ञान प्रदर्शनी, विजय सालको जुस लगायतका स्टलहरु मेलाको आकर्षण रहेका छन् । मेलाको छैठांदिन बुधबार लोक गायक पशुपति शर्मा, शिलु भट्टराई्, सिता राना, जादुुगर बलराम सरकार, आधुनिक गायिका ऋतु कंडेल लगायतका कलाकारको प्रस्तुती र साथमा सिङगीङ्ग आईडल हुने बताइएको छ ।