प्रदेश क्रिकेट छनोट,रुपन्देही र बाँके विजयी

प्रकाशित मिति:

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, बाँकेले अर्घाखाँचीलाई ८२ रनले पराजित गर्यो ।पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले निर्धारित खेलमा ५ विकेटको क्षतिमा १८६ रनको उच्च स्कोर बनायो । जसमा निश्चल चौधरीले नटआउट ४७, संदीप सुनारले ४४, मिर्नाल गुरुङले २६, कृष्ण कार्कीले नटआउट २१ रनको योगदान गरे । बलिङमा रोल्पाका सलिम सेनले ३, सुरज रोक्का र दीपक विष्टले १÷१ विकेट लिए ।प्रतिउत्तरमा उच्च लक्ष्य पछ्याएको रोल्पाले ८ विकेटको क्षतिमा जम्मा ४३ रन मात्रै बनाउन सक्यो । जसमा सरोज बस्नेतले १२ र मनिष विष्टले नटआउट ११ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा रुपन्देहीका कृष्ण कार्की, संदीप सुनार र शौरभ खनालले २÷२ विकेट लिए । यस्तै, अजय लोनिया र विक्रम भुसालले १÷१ विकेट लिए । संदीप खेलमा म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बाँकेले ५ विकेट क्षतिमा १४३ रन बनायो । उसका लागि अनुपम सिंहले ३०, सुनिल भण्डारीले २९ र सिद्धान्तराज शाहीले २२ रन बनाए । बलिङमा अर्घाखाँचीका देवराज खनाल र जगतबहादुर क्षेत्रीले २÷२ विकेट लिए । प्रतिउत्तरमा अर्घाखाँचीले १६.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनायो । उसका लागि अरविन सारुमगरले १९ र देवराज खनालले १४ रनबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा खेलका म्यान अफ दी म्याच समेत रहेका बाँकेका आकाश विष्टले ५ विकेट लिए । यस्तै, रोशनकुमार शाही, सिद्धान्तराज र दीपेन्द्र रावलले १÷१ विकेट लिए ।बुधबार रुपन्देही र गुल्मी तथा कपिलवस्तु र दाङ जिल्लाबीच हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल भइरहेको छ । यहाँबाट उत्कृष्ट १४ खेलाडी बनोट गरी प्रदेशको एउटा टिम बनाई चैतमा हुने आठौंमा सहभागी गराइनेछ ।