तिलोत्तमा ३ मा नेकपाको सपथ

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर ३ को नवगठित शाखा कमिटीको मंगलबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले वडा नम्बर ३ मा शाखा कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो । पार्टीका प्रदेश कमिटी सदस्य एवं जिल्ला कार्यदलका सदस्य गोपाल भट्टराईले सपथग्रहण गराएका हुन् ।  कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान राष्ट्रिय सन्दर्भका विषयमा चर्चा गर्दै पार्टी कमिटीलाई जनताका काममा सक्रिय भइ लाग्न आग्रह गरे । नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी एकताको भावनालाई आत्मसात गर्दै जिम्मेवारी पूरा गर्न र सरकारका राम्रा कामको जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । शाखा कमिटीका अध्यक्ष अच्यूत पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, शाखा कमिटी सचिव युवराज पराजुली लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी र पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।