नेकपाका नेता तथा पूर्वसांसद पण्डितको निधन

प्रकाशित मिति:

काठमाण्डौ/नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलबार निधन भएको छ ।हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो ।विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोट–२ बाट तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा ९माले०बाट उम्मेदवार बन्नुभएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । त्यसपछि उहाँ झण्डै आठ महिना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो ।तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बन्नुभएको थियो । काठमाण्डौको बसुन्धरामा बस्दै आउनुभएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहनुहुन्छ । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय रहनुभएको थियो ।