काठमाडौं, श्रावण ११
भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ता बापतको रकमको चेक हस्तान्तरण भएको छ । शुक्रबार बिहान अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा। राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेरुको चेक हस्तान्तरण गरेका हुन् ।
यो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताको प्रतिपूर्तिमा उपयोग हुनेछ । २०७२ फागुन ८ मा नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो ।
चेक बुझेपछि आफ्नो मन्तव्य राख्दै अर्थ मन्त्रालयका सचिव डा। राजन खनालले भूकम्पपछिको उद्दार र पुनर्निर्माणमा भारतबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका लागि भारतीय राजदूत पुरीले दोस्रो र अन्तिम किस्ता हस्तान्तरणको प्रक्रिया सुरु भइसकेको र दुई महिनाभित्र निश्कर्षमा पुग्ने जानकारी दिए ।
नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ७५ अर्ब रुपैयाँ सहुलियत ऋण हो भने २५ अर्ब अनुदान हो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ । सेप्टेम्बर २०१६ मा दुवै देशले ७५ अर्ब रुपैयाँ सहुलियत ऋणमध्ये नुवाकोट र गोरखाका लाभग्राहीको तेस्रो किस्ताका लागि ५ अर्ब रुपैयाँ खर्च गर्ने सहमति पनि बनेको छ ।