टिकापुर घटनाको बहस सकियो फैसला बुधबार हुने

प्रकाशित मिति:

कैलाली /कैलाली जिल्ला अदालतमा एक सातादेखि जारी रहेको टीकापुर घटनाको बहस आज सकिएको छ ।बहस सकिएसंगै मुद्धाको फैसला बुधबार हुने जिल्ला अदालत कैलालीले जनाएको छ । सो मुद्दामा बादीका तर्फबाट २ जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट १२ जना कानुन व्यवसायीले बहस गरेका छन् ।बरिष्ठ अधिवक्ता गोपाल घिमिरे, अधिवक्ताहरु विर बहादुर जेठारा, गंगाराम उपाध्याय, गजेन्द्र बहादुर केसी, गम्भिर सिंह ऐर, अधिवक्ता हरी फुँयाल, मिलन राई, नाथुराम महतो लगायत १२ कानुन व्यवसायीले प्रतिबादीका तर्फबाट बहस गरेका छन् ।सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता बिस्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन् । मुद्दालाई हेर्दा हेर्दैमा राखेर छिटो टुंग्याउने गरी बहस सम्पन्न भएको जिल्ला अदालत कैलालीका सुचना अधिकारी नर बहादुर नेगीले बताए ।

मुद्धाको बहस सकिएपनि केही मिसिल हेर्न बाँकी रहेकाले बुधबार पेशी चढी दिउँसोसम्म फैसला हुनसक्ने सुचना अधिकारी नेगीले बताए । थप प्रमाण बुझ्नुपर्ने नभएमा फैसला हुने उनले बताए । जिल्ला न्यायाधिस परशुरामा भट्टराईको खुला इजलासमा टीकारपुरको कर्तव्य ज्यान, डाँकाचोरी तथा ज्यानमार्ने उद्योग मुद्दा माथीको बहस सकिएको हो ।२०७२ सालमा घटेको टीकापुर घटनाको उक्त मुद्दाको सुनुवाई झण्डै साढे तीन बर्षपछि बहस भएको हो । टीकापुर घटनाका मुख्य आरोपीका रुपमा रहेका रेशम चौधरी घटना पश्चात प्रतिनिधिसभामा समेत निर्वाचित भएर हाल कारागारमै रहेका छन् । निर्वाचित भएको एक बर्षपछि उनलाई गत महिना सांसदको सपथ समेत खुवाइएको थियो ।

थरुहट र थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक सहित ८ प्रहरीको ज्यान गएको थियो । घटनामा संग्लन ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।