नरेश के.सी \भैरहवा, साउन ११ । विगत १२ दिनदेखी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस ) भैरहवाको आईसीयु कक्षमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका एक विरामीको आर्थिक अभावका कारण स्वास्थ्य उपचार प्रभावित हुने देखिएको छ । प्युठान जिल्ला स्वर्गदारी नगरपालिका वडा नम्बर ४ गोठिबांग निवासी ४१ वर्षिय डोर बहादुर थापा क्षेत्रीको थप उपचारकोलागी रकम अभाव हुदां समस्या देखिएको हो । उनको भेन्टिलेटर सहित आइसीयुमा राखेको शुल्क, औषधी गरेर दैनिक १५ देखी २० हजार सम्म खर्च भईरहेको छ । आर्थिक अभाव हुदां उक्त रकम व्यवस्थापन गर्न परिवारलाई धौं भएको उनको श्रीमति बिजुला थापाले जनाईन् । उनले भनिन , ‘अप्रेशन पनि भईसक्यो, १२ दिनदेखी भेन्टीलेटरमा हुनुहुन्छ । पैसा पनि सकिसक्यो , अझै धेरै दिन राख्न पर्ने डाक्टरले बताएका छन् । ‘ निम्न वर्गिय थापा क्षेत्री आपको रुखबाट लडेर गम्भिर घाईते भई उपचारकोलागी श्रीमतिसंगै भैरहवा आएका ह्न् । उनीहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले सहयोगीहरुले सहयोग गरी उपचार कार्यमा सहयोग गर्न स्वर्गदारी नगरपालिकाले समेत अनुरोध गरेको छ । वडाध्यक्ष सुरेन्द्र हमालले उपचारत डोरबहादुरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले सबैलाई सहयोगकोलागी अनुरोध गरेका छन् । उपचारत थापा क्षेत्रीका १० वर्षिय एक छोरा अपांग छन् । अर्को ८ वर्षिय छोरी घरमै छन् । श्रीमानको कुरुवाको रुपमा अस्पतालमा भेटिएकी विजुलाले भनिन् ‘ ३ लाख भन्दा माथी सकिसक्यो । ल्याएको पैसा सबै सकिसक्यो । केही दिनकोलागी तेज सरले अरु उधारो गरिदिनु भएको छ । खै कति खर्च हुने हो ?‘ उनी रुदै भनिन् , ‘ सबैले सक्दो सहयोग गरे मेरो श्रीमान बाच्ने थिए । ‘ थापा क्षेत्रीको स्वास्थय उपचारमा खटिएका न्यूरोसर्जन डा. राजकुमार के.सीका अनुसार उनको घाटीको हड्डी भाचिंएको थियो । भाचिएको हड्डीको अप्रेशन भइसकेको छ । अब श्वासप्रश्वासमा समस्या भएकोले भेन्टिलेटरमा राखेका हौं । उपचार सुधारोन्मूख छ ।‘ यता अस्पताल प्रशासनले विरामीको उपचार उधारोमा भईरहेको जनाउदैं कोही दाता भए सहयोग गर्न सक्ने जनाएको छ । अस्पतालका प्रशासन संयोजक तेज कुमार के.सीले भने ‘हामीले उधारो पनि उपचार गरेका छौं । यस्तो उपचार महंगो हुन्छ । अप्रेशन पछि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । कोही सहयोगी भए विरामीको उपचारमा सहयोग गरे उनीहरुलाई परेको आर्थिक समस्या समाधानमा टेवा मिल्ने थियो । ‘ उनको उपचारमा के कति रकम लाग्ने हो अहिले सम्म यकिन छैन । तथापी विरामीको अवस्था सुधारोन्मुख छ, आर्थिक अभावको कारण विरामी बचाउनु जरुरी देखिएकोले सहयोगको अपील गरिएको उनका आफन्तले जनाएका छन् । उनीहरुले भनेका छन् ‘कोही सहयोग गर्न इच्छुक भए उनको श्रीमति विजुला थापाको मोबाइल नम्बर ९८४७८९००३५ , ९८२५४१०५९०, ९८१२८०६४७३ मा सम्पर्क गरी सक्दो सहयोग गरिदिन आग्रह गर्दछौं । ‘ उनको आईसीयुको १ नम्बर बेडमा उपचार भईरहेको छ ।