प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना

प्रकाशित मिति:

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।प्रधानमन्त्री ओली बिहान १० बजे अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । नियमित जाँचका लागि पुगेका प्रधानमन्त्री ओलीको थप परिक्षण गर्नुपर्ने देखिएकाले अहिले निगरानीमा राखिएको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको परीक्षण प्राध्यापक अरुण सायमीको नेतृत्वमा भइरहेको र उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सेण्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भए पनि समय नमिल्दा त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्य जाँच गर्न पुग्नुभएको अधिकारीले जानकारी दिनुभयो ।१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीलाई समय–समयमा नियमित रुपमा चेक गराइरहनुपर्छ । अस्पतालको कार्डियोलोजी विभागमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको रगत परीक्षणका साथै एक्सरे तथा फुल बडी चेकअप गरिने छ ।