देवदह मेलाको अवलोकन गर्दै नेता भण्डारीले भने, साना ब्यवसायिलाई मेलाले ठुलो गुन लगाउछ

प्रकाशित मिति:

झविन्द्र देवकोटा  बुटवल, २२ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले स्थानीय स्रोत साधनको प्रयोग गर्न सके मुलुक समृद्ध हुने बताउनु भएको छ । उहाँले स्थानीय स्तरमा प्रायाप्त स्रोत साधन भएकाले तिनको उचित प्रयोग गर्न सकिने बताउनुभयो । रुपन्देहीको देवदहमा संचालन भई रहेको पाँचौ राष्ट्रिय औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको बुधबार अवलोकन गर्दै नेता भण्डारीले मेला महोत्सवहरुले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठुलो भुमिका खेल्ने बताउनुभयो । मेलामा सानादेखि ठुला ब्यवसायिक प्रतिस्ठान तथा उत्पादनहरुले बजार पाउने बताउदै उहाँले प्रदर्शनी तथा मेलाहरु स्थानीय स्तरमै लाग्नुले साना उत्पादक तथा ब्यवसायिहरुलाई ठुलो सहयोग गरेको बताउनुभयो । भण्डारीले मेलामा रहेका सबै स्टलको अवलोकन गर्दै कृषि तथा साना उद्योगिहरुलाई स्टलमै पुगेर प्रोत्साहन समेत दिनु भएको थियो ।

नेता भण्डारीसँगै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, हरि काफ्ले लगायतका नेताहरुले मेलाको अवलोकन गरेका हुन् । यसभन्दा अगाडि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल लगायतको पदाधिकारीको टोलीले देवदह मेलाको अवलोकन गरेको थियो । फागुन २८ गतेसम्म संचालन हुने मेलामा कृषि, पर्यटन, हस्तकला, गार्मेन्ट, होटल तथा रेष्टुरेन्ट लगायतका तीन सय स्टलहरु राखिएको छ । यसैबीच बुधबार चर्चित लोकगायक पशुपति शर्माले मेलामा पुगेको दर्शकलाई नचाएका थिए । शर्माले आफुले गाएका चर्चित गितहरु गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । बुधबारको साँस्कृतिक कार्यक्रममा लोकगायिका शिलु भट्टराई, सिता थापा, जादुगर बलराम सरकार लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । यस्तै बिहीबार लोक गायक राजु गुरुङ्ग, मालती खरेल, पप गायक आरके खत्री र हास्य कलाकार पुर्खे बाले आफ्नो प्रस्तुती देखाउने सांस्कृति संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।