प्रदेश क्रिकेट छनोट , दाङ र रुपन्देही विजयी

प्रकाशित मिति:

भैरहवा, २३ फागुन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बुधबार भएको खेलमा रुपन्देही र दाङ जिल्ला विजयी भएका छन् । रुपन्देहीले गुल्मीलाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, दाङले कपिलवस्तुलाई ८ विकेटले पराजित गर्यो । पहिलो खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको रुपन्देहीले निर्धारित २० ओभरको खेलमा ८ विकेट क्षतिमा १४४ रन बनायो । जसमा कृष्ण कार्कीले ४६, शौरभ खनालले २२, संदीप रजालीले १९ र मिर्नाल गुरुङले १७ रन बनाए । बलिङमा गुल्मीका देवेन्द्र सोमरेले २, अरुण गिरी, शंकर विष्ट, कुसल सिंह, रमेश श्रीस र त्रिदेव केसीले समान १÷१ विकेट लिए । प्रतिउत्तरमा गुल्मीले १६ ओभरमा सबै विकेट गुमाई ५८ रन मात्रै बनाउन सक्यो । जसमा त्रिदेव केसीले १२ र रमेश कार्मीले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा रुपन्देहीका विक्रम भुसालले ३, कृष्ण कार्की, विकास श्रेष्ठ, अजय लोनियाले २÷२ विकेट लिए । कृष्ण खेलमा म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा कपिलवस्तुबाट जितका लागि पाएको १४३ रनको लक्ष्य दाङले १७.१ ऋोभरमा २ विकेट क्षतिमा १४५ रन बनाउँदै पुरा गरी जित निकाल्यो । जसमा राजविर सिंहले नटआउट ६१, विराट भण्डारी र सुशान्तसिंह थापाले समान १७÷१७ तथा नविन आचार्यले नटआउट १४ रन बनाए । बलिङमा कपिलवस्तुका इमरान खान र राज अग्रहरीले समान १÷१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कपिलवस्तुले ८ विकेट क्षतिमा १४२ रन बनाएको थियो । जसमा इमरान खानले ५१, प्रज्वल थापाले ३५ तथा दुर्गेश कुमार गुप्ताले २० रन बनाए । बलिङमा दाङका अमित तामांगले ३, विशाल केसी र राजविर सिंहले समान १÷१ विकेट लिए । राजविर म्यान अफ दी म्याच घोषित भए । बिहीबार पाल्पा र दाङबीच प्रतिशस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल भइरहेको छ । यहाँबाट उत्कृष्ट १४ खेलाडी बनोट गरी प्रदेशको एउटा टिम बनाई चैतमा हुने आठौंमा सहभागी गराइनेछ ।