पोखराको विन्ध्यवासिनी मन्दिर जान लिफ्ट

प्रकाशित मिति:

पोखरा –  पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट चढेर दर्शन गर्न पाइने भएको छ । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । गत वर्ष वैशाख महिनादेखि निर्माण सुरु भएको उक्त लिफ्ट ६० फिट अग्लो छ । श्रेष्ठका अनुसार लिफ्टमा एकैचाटीमा १२ जनासम्म चढ्न मिल्छ । यसको भारबहन क्षमता ६ सय ८० किलोग्राम रहेको छ । उक्त लिफ्ट व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा १ करोड लागतमा बनेको हो ।  विन्ध्यवासिनी मन्दिरमा दैनिक करिब ३ हजार जनाले भ्रमण गर्ने व्यवस्थापन समितिको भनाइ छ । ‘लिफ्ट निर्माण नहुँदा जेष्ठ नागरिक र अशक्त, अपांगलाई गाह्रो थियो । तर, अब उनीहरुको पहुँचमा मन्दिर पुगिसकेपछि अझै दर्शनार्थी बढ्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने । श्रेष्ठले हाललाई जेष्ठ नागरिक र शारीरिक अपांगलाईमात्रै लिफ्टको निशुल्क व्यवस्था गरिएको जानकारी दिए ।

लिफ्ट उद्घाटन राष्ट्रपतिबाट

विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्ट उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छिन् । उनले लिफ्टमा रहेको शिलापत्र अनावरण गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । ‘उहाँ लिफ्टको उद्घाटनपछि शिव मन्दिर, विन्ध्यवासिनी मन्दिर, गणेश मन्दिरमा पूजा तथा दर्शन गर्नुहुनेछ,’ श्रेष्ठले भने, ‘त्यसपछि दाताहरुलाई सम्मान गरेर सम्बोधन गनुहुनेछ ।’