यस्तो अवस्थामा जन्मन सक्छ रोगी बच्चा

प्रकाशित मिति:

अक्सर बच्चा गर्भमा रहेको बेला आमाबुवालाई एउटा चिन्ताले सताउँछ, के हाम्रो बच्चा सकुशल जन्मिएला ? वा बच्चा शारीरिक-मानसिक रुपले स्वस्थ्य होलान् ? चिन्ता यसकारण पनि स्वभाविक छ कि, गर्भको बच्चा कस्तो छ भन्ने पूर्ण जानकारी हुँदैन । त्यसैले कहिंले कहिं अनपेक्षित रुपमा कमजोर बच्चा पैदा हुन पुग्छन् । कोहि जन्मदै रोगी र विकलाङ्ग हुनसक्छन् । कोहि मानसिक रुपले कमजोर । त्यसैले गर्भमा बच्चा रहेदेखि नै विभिन्न सर्तकता अपनाइने गरिन्छ, ताकि बच्चा स्वस्थ्य र तन्दुरुस्त होस् । तर, यसका लागि जीवनशैली, खानपानदेखि सोंच-चिन्तनमा समेत ख्याल गर्नुपर्ने हुन्छ ।

कुन अवस्थामा सावधानी अपनाउने ?

आमाको हरेक गतिविधि, सोंच चिन्तन, खानपानले गर्भको बच्चालाई सोझो असर पार्छ । त्यसैले यतिबेला स्वस्थ्य एवं पोषिलो खानपान, सन्तुलित जीवनशैली र सकारात्मक सोंच आवश्यक हुन्छ । कतिपय कुरामा विशेष सावधानी अपनाउनु पर्छ । जस्तो कि, लामो यात्राको क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्छ । गर्भावस्थामा धेरै एक्स रे गराउँदा त्यसको सोझो असर गर्भको बच्चामा पर्छ । जथाभावी औषधी सेवनले पनि समस्या निम्त्याउँछ ।

किटनासक र भ्रुण

अहिले हामी आयतित खाद्यपदार्थमा निर्भर छौ । चाहे त्यो चामल, दाल, तेल वा फलफूल, तरकारी नै । र, अहिले व्यवसायिक रुपमा उत्पादन गर्ने यी खाद्यपदार्थमा कहि न कतै किटनासक औषधी प्रयोग गरिएको हुन्छ । यहि किटनासक औषधीको प्रभावले गर्भको बच्चामा सोझो असर पर्ने र अपाङ्ग एवं अशक्त बच्चा पैदा हुने भय रहन्छ । केहि अध्ययनबाट के थााहा भएको छ भने, गर्भावस्थाको बेला प्रयोग गरिने खानेकुरामा किटनासक औषधी प्रयोग भएको छ भने त्यसको असरले बच्चामा जन्मजात विकार देखिन सक्छ । जुन महिलाले अत्याधिक किटनासकको प्रभाव झेल्नुपर्छ, उनीहरुमा ८ देखि ९ प्रतिशतसम्म यस्तो खतरा रहन्छ ।

के गर्ने ?

संभव भएसम्म जैविक खाद्य पदार्थ नै सेवन गर्नु राम्रो हो । आफैले उत्पादन गरेको खानेकुरा भए त चिन्ता लिनुपर्ने कारण नै रहँदैन । तर, कतिपय अवस्थामा यो संभव हुँदैन । त्यसैले आफुले सेवन गर्ने खानेकुरा बजारबाट ल्याइसकेपछि नुन र पानीको घोलमा डुबाउने, खासगरी तरकारी र फलफूल । आधा घण्टा भिजाएपछि मात्र त्यसलाई सफा पानीले धोएर सेवन गर्नुपर्छ ।