ओली र बामदेवको डिभोर्स !

प्रकाशित मिति:

काठमाडौं – लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेकपाको पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्धविच्छेद’ गरेका छन् । तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै आएका थिए  । गौतमले यसपटक भने बैठकमा ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने । ओलीसँग आफ्नो मोहभंग भइसकेको बताउँदै आएका गौतमले अन्ततः फरक मतमार्फत राजनीतिक लाइनमा ‘सम्बन्धविच्छेद’कै घोषणा गरेको चर्चा चलेको हो ।

गौतम स्वयंले सार्वजनिक र औपचारिक रूपमा यसबारे केही नबताए पनि पार्टी बैठकमा बाहेक अहिले ओलीसँग उनको संवाद टुटिसकेको छ । पछिल्लोपटक उनले ‘एक व्यक्तिः एक पद’को विचार अघि सारे । दुई अध्यक्षमध्ये एकले सरकार सञ्चालन गरे, अर्कोले पार्टी चलाउनुपर्ने उनको मत छ । गौतमले ओलीलाई दुईतिहाइको दम्भ हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर देखाउन र उनीसँगको माया–प्रीति जुग–जुगसम्म कायम राख्न पनि चुनौती दिए  । गौतमनिकट केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले भने गौतमले फरक मतभन्दा पनि पार्टी र सरकार सञ्चालनका कमजोरी सुधारका लागि विचार राखेको टिप्पणी गरे  ।

दशक लामो सहकार्य वारपारको दिशामा

नेपालगन्जमा ०५४ मा सम्पन्न छैटौँ महाधिवेशनमा दुई ध्रुवमा उभिँदा ओली–गौतमको टकराव पार्टी विभाजनमा निर्णायक बनेको थियो  । तर, जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा दुई नेताबीच सम्बन्ध सुधार भयो  । माधव नेपाल पार्टी महासचिवमा निर्वाचित हुँदा गौतमले उनलाई खासै सघाएनन्, सम्बन्ध पनि बिगारेनन्  । यद्यपि, अन्तिम घडीसम्म प्रतिस्पर्धामा रहेका ओलीतिरै गौतमले सहानुभूति राखे  । ०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने गौतमले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित गर्न सघाए  । तर, खनाल–ओलीबीचको व्यक्तित्वको टकरावले अर्को महाधिवेशनसम्मको आधाभन्दा बढी समयसम्म पार्टी लथालिङ बनेपछि दुईलाई मिलाउन गौतमले सेतुको भूमिका निर्वाह गरेका थिए  । त्यसयता सुध्रिएको सम्बन्धलाई दोस्तीसहितको सम्झौतामा रूपान्तरण गर्दै गौतमले ओलीलाई संसदीय दलको नेता मात्र होइन, पछिल्लो नवौँ महाधिवेशनमा अध्यक्षमा निर्वा्चित गर्नै निर्णायक भूमिका खेले  ।

गुरुङ र महासेठ ओलीतिर

गौतम समूहलाई साथ दिँदै आएका स्थायी समिति सदस्य किरण गुरुङले उनको साथ छाडेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सरकारमा सहभागी भएपछि गौतमसँग भन्दा प्रधानमन्त्री ओलीसँग निकट हुँदै गएका छन् । गुरुङले आफ्नो साथ मूल नेतृत्वमा रहेका ओलीलाई रहेको स्पष्ट पारे  । ‘मलाई वामदेव कमरेडले नै भूमिगत राजनीतिमा लगाउनुभएको हो  । त्यस हिसाबले उहाँसँग मेरो पुरानो भावनात्मक सम्बन्ध मात्र छ,’ गुरुङले भने, ‘तर राजनीतिक, वैचारिक रूपमा मैले मूल नेतृत्व (केपी ओली) लाई नै साथ दिँदै आएको छु र दिनेछु  ।’

कस्तो छ केन्द्रीय कमिटीमा वामदेव–शक्ति ?

नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतमलाई विगतमा साथ दिँदै आएका करिब डेढ दर्जन केन्द्रीय सदस्य छन्  । अहिलेसम्म १५ जनाले खुलेर उनलाई साथ दिँदै आएका छन् । यो केन्द्रीय कमिटीभित्र जम्मा साढे ३ प्रतिशत संख्या हो । गौतमसहित उमादेवी कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, पद्मा अर्याल, बलराम बास्कोटा, यामलाल कँडेल, राधाकुमारी ज्ञवाली, सावित्रा कुमारी भुसाल, हरिप्रसाद पराजुली, जुलीकुमारी महतो, सुरेन्द्र मानन्धर, मोहन बानियाँ, लक्ष्मणराज ज्ञवाली गौतम समूहमा छ । प्रदेश तहमा पनि गौतम समूहका नेता–कार्यकर्ता केन्द्रकै हाराहारी अनुपातमा रहेको बताइन्छ  । जिल्ला र भातृ संगठनमा भने एकीकरण नभइसकेकाले उनको समूहको शक्ति कति भन्ने प्रस्ट छैन  । पूर्वमाले समूहको गाउँ–नगर तहसम्म संगठन–सञ्जाल भएकाले गौतमनिकट कार्यकर्ता तल्लो तहसम्म भएको अनुमान गरिन्छ  - नयाँपत्रिकाबाट

थप समाचार