आफ्नै देशको सेनाबाट बलात्कृत भएको अमेरिकी सांसदको खुलासा

प्रकाशित मिति:

वाशिङटन – अमेरिकाका एक जना सिनेटरले आफू अमेरिकी एयर फोर्समा रहँदा आफू भन्दा बरिष्ट अधिकारीबाट बलात्कारको शिकार भएको बुधबार एक संसदीय उपसमितिमा बोल्दै बताएकी छन् । मार्था म्याकसेल्ली नामकी रिपब्लिकन सिनेटरले सेनामा कसरी यौन दुव्र्यवहार हुन्छ भन्ने विषयमा बोल्ने क्रममा आफ्नै कुरा खुलासा गरेकी हुन् । उनी पहिलो महिला युएस फाइटर पाइलट पनि भएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । एरिजोना राज्यबाट प्रतिनिधित्व गर्ने उनले यसअघि लामो समय सेनामा काम गरेकी थिइन् । आफूले त्यतिबेला लाज र अन्योलका कारण कतैपनि बलात्कार बारेमा रिपोर्ट नगरेको समेत जनाएकी छन् । सन् २०१७मा अमेरिकी सेनामा यौन दुव्र्यवहारका घटना १० प्रतिशतले बृद्धि भएको रिपोर्ट परेको थियो ।

म्याकसेल्लीले सिनेटको आर्मड सर्भिस सब कमिटीमा बोल्दै आफू धेरै वर्ष सम्म मौन रहेको तर अहिले भने जनतालाई पनि जानकारी दिनुपर्छ भन्ने लागेको जनाइन् । म्याकसेल्लीले २६ वर्ष युएस एयरफोर्समा काम गरेकी थिइन् । सन् २०१०मा अवकाश पाउँदा उनी कर्णेल भएकी थिइन् । त्यसपछि उनी अमेरिकाको प्रतिनिधि सभामा दुई पटक निर्वाचित भएकी थिइन् भने सिनेटमा अघिल्लो वर्ष निर्वाचित भएकी हुन् । उनले पहिलापनि सेनामा आफू यौनजन्य दुव्र्यवहारमा परेको बताएपनि यसरी विस्तृत रुपमा बोलेकी थिइनन् । गएको वर्ष सिनेटमा उम्मेदवार भएको बेलामा उनले वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा भने आफू स्कुलमा पढ्दा १७ वर्षको उमेरमा एथलेटिक्स कोचले आफूलाई यौन सम्पर्क गर्न बाध्य पारेको बताएकी थिइन् ।