सभामुख र उपसभामुख फरक दलको हुनु पर्छ : नेपाली कांग्रेस

प्रकाशित मिति:

काठमाडौँ — संसद्‍का सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्‌मा विरोध गरेको छ । डा गोविन्द केसीको जीवनरक्षा र अध्यादेशअनुसारै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै कांग्रेसले तीन सातादेखि संसद् अवरोध गरेको थियो । कांग्रेसको अवरोधले एक साता संसद् बैठक चलेन । सरकार र केसीबीच बिहीबार सहमति भएपछि कांग्रेसले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने माग अघि सारेको हो । संविधानको धारा ९१ मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखमा फरक९फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । संविधानको यही प्रावधानअनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुख भागबन्डा गरेका थिए तर दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि प्रतिनिधिसभासहित ६ प्रदेशका सभामुख र उपसभामुखको पद के हुने भन्ने संवैधानिक जटिलता देखिएको हो ।सभामुख र उपसभामुख नेकपाकै भएकाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार फरक दलको हुनुपर्ने माग कांग्रेसले राखेको हो । ‘संविधान फेर्न तागत छ भन्दैमा संविधान मान्दिनँ भन्न पाइँदैन,’ कांग्रेस सांसद मीनेन्द्र रिजालले शुक्रबारको बैठकमा भने, ‘एउटै दलको सभामुख र उपसभामुख हुन सक्दैन भनेर संविधानमा व्यवस्था छ । सभामुख र उपसभामुख अदालतको प्रतिवादी भएर बस्न पाइँदैन ।’ रिजाल बोलिरहँदा नेकपाका सांसद कृष्णभक्त पोखरेलले यो मुद्दा अदालतमा विचाराधीन भएको भन्दै संसद्‌मा छलफलको विषय बनाउन नहुने भन्दै नियमापत्ति जनाए । ‘यो अदालतमा विचाराधीन छ । अन्तिम सुनुवाइ भएको छैन,’ उनले भने, ‘रेकर्डबाट हटाइयोस् ।’ रिजालले सभामुख र उपसभामुखलाई अदालतको प्रतिवादी भएर बस्ने बाटो नरोज्न समेत आग्रह गरे । नेकपाका कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाम्फे सभामुख र उपसभामुख छन् ।