​विप्लवको ‘मिनी रोल्पा’मा प्रहरीलाई चोरी औँला

प्रकाशित मिति:

बुटवल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गाउँ कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा प्रहरीले ‘सर्च अपरेसन’ चलाएपछि बिहीबार बिहानैदेखि तनाव भयो । प्रहरीको विशेष टोलीले विहीबार विहान विप्लवका कार्यकर्ता यादव चन्दको घरमा सर्च अपरेशन गरेको थियो । सर्च अपरेशन पश्चात चन्दको घरमा केही हतियार भेटिएको जनाइएको छ । शिवगढीमै विप्लवको पनि घर छ ।

प्रहरीले सर्च अपरेशन गर्दैगर्दा स्थानीयबासी प्रतिकारमा उत्रिए । उनीहरुले चोर औँला ठड्याउँदै प्रहरीलाई थर्काए । गाउँलेको प्रतिकारमा दुई जना प्रहरी जवानसमेत घाइते भएका छन् । स्थानीयबासीले प्रहरीमाथि ढुंगा हान्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शान्तिपूर्वक रुपमा अपरेसन चलाउँदा एक्कासी स्थानीयले ढुङ्गा प्रहार गरेको प्रहरीको दावी गरेको छ । शिवगढी दाङसँग सीमा जोडिएको स्थान हो । विप्लवका सबै परिवारको बसोबास यहीँ छ । यो ठाउँलाई ‘मिनी रोल्पा’समेत भनिन्छ । सशस्त्र यद्धका क्रममा पनि यो गाउँमा १४ जनाभन्दा धेरैको मृत्यु भएको थियो । तराइका जिल्लाहरु माओवादीको प्रभाव कम भएको मानिए पनि शिवगढीलाई तत्कालीन माओवादीले ‘मिनी रोल्पा’ भन्दै आएको थियो ।