सडक दुर्घटना न्यूनिकरणका लागि साँस्कृतिक कार्यक्रम

प्रकाशित मिति:

हरिश ढकाल, बुटवल /सडक दुर्घटना र त्यसबाट हुने अपाङ्गताबाट बचौं र बचाऔं भन्ने सन्देश प्रबाह गर्ने तथा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शारिरिक अपाङ्गता भएका प्रतिभाहरुले सडक दुर्घटना, यसबाट हुने धनजनको क्षति, दुर्घटनाका कारण अपाङ्ग भएकाहरुको कथा ब्यथा लगाएतका बिषयमा कला मार्फत सचेतनामुलक प्रस्तुतीहरु पस्केका थिए । राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठान नेपाल तथा समावेशी अपाङ्ग सञ्जालले आयोजना गरेको अपाङ्गता जनचेतना मूलक सडक दुर्घटना न्यूनिकरण सम्बन्धी साँस्कृतिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक आकाश विरही कान्छाले सानो लापरवाहीका कारण ठूलो धनजनको क्षति बेहोर्नु परेको बताउदै यसबाट बँच्न र बचाउन आग्रह गरे । सवारी चालक, पैदल यात्री र ट्राफिक प्रहरी सबै सचेत भएमा दुर्घटनाबाट हुने अपाङ्ग हुनबाट बचाउन सकिन्छ भनेर आफुले राष्ट्रिय अभियान लिएर आएको उनले बताए ।

मौलिक कला साँस्कतिको संरक्षण गरौं, दबेको आवाज र लुकेको प्रतिभाको उजागर गरौं, देश भरिका अपाङ्गहरु सबै एकजुट हौं भन्ने मुल नारा लिएर अभियान संचालन गरेको बताउदै संयोजक बिरही कान्छाले दिन प्रतिदिन  दुर्घटनालाई न्यूनिकरण गरि सभ्य समाज निमार्णका लागि सबैको पहल हुनु जरुरी रहेको बताए । कार्यक्रममा तत््कालिन संविधान सभा सदस्य विनोद पहाडीले मनमा दृढ इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिने उदाहरण कलाकारहरुबाट सिक्न सकिने बताउदै मानिस शारिरीक रुपले भन्दा मानसिक रुपले अपाङ्गता बढि खतरा हुने बताए ।

अपाङ्गहरुको संरक्षण र उनिहरुको कलालाई संरक्षण गर्ने दायित्व सरकारको भएको बताउदै पूर्व सभासद पहाडीले लक्षितवर्गका नाममा आउने अनुदानलाई लक्षित समुदायले उपभोग गर्न पाउने अधिकार सदुपयोग गर्न आग्रह गरे । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, वडा प्रहरी कार्यालयका प्रहरि निरिक्षक हेमबहादुर केसी, पश्चिम नेपाल बस व्यवसायी संघका ठाकुर गैरे, यातायात मजदुर भलाई कोषका कृष्ण कंडेल लगाएतले बोल्दै सवारी दुर्घटनाबाट हुने अपाङ्गतालाई रोक्नका लागि घरघरबाट आवाज उठाउनु जरुरी रहेको बताए । ट्राफिक प्रहरी देख्दा मात्र नियमको पालना गर्ने होईन आफु र आफ््नो परिवारलाई हुनसक्ने क्षतिबाट बच्न र बचाउन सबैले पहल गर्नुपर्ने बताए । उनिहरुले परेपछि पछुताउन भन्दा समयमै सचेत भएर सभ्य नागरिकको पहिचान दिन सके सभ्य समाज बनाउन सकिने बताए ।
साँस्कृतिक कार्यक्रममा कलाकारहरु चेतबहादुर केसी, मुना थापा, चन्द्र प्रकाश बिसी, सरस्वती तिरुवा, कृष्णमाया राई, मञ्जु पुन, मेक सारु मगर, पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान सुनिल थापा लगाएतले सन्देशमुलक, चेतनामुलक र जानकारी मुलक गीत, नृत्य लगाएतका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वयं अपाङ्गता भएका कलाकार चेतहादुर केसीले प्रस्तुत गरेको प्रभावकारी नृत्यले उपस्थित जनसमुदायलाई चकित पारेको थियो ।