भैरहवा बहुमुखी क्याम्पसमा सप्ताहव्यापी कार्यक्रम गरी स्वर्ण महोत्सव सम्पन्न

प्रकाशित मिति:

भैरहवा /स्थापना भएको ५० वर्ष पुगेको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइरहेको यस क्षेत्रकै जेठो शैक्षिक संस्था भैरहवा बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । बिहीबार भएको कविता प्रतियोगितामा मनिषा खनालले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यस्तै, भीम भण्डारी द्वितिय, अनुज्ञा थापा क्षेत्री र विष्णुमाया घिमिरे तृतिय तथा अखिलेश गुप्ता सान्वत्ना भएको कार्यक्रम संयोजक सहप्राध्यापक डा.दामोदर ढकालले जानकारी दिए ।

प्रतियोगितामा सहप्राध्यापक डिल्लीराज भट््टराई र कौशलराज गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख प्रा.डा. कपिलदेव लामिछाने, डिल्लाीराज भट््टराई, डा.शंकरप्रसाद नेपाल, डा.शम्भुकुमार गुप्ता, बैकुण्ठराज कोइराला लगायतले बोल्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताए । उनीहरुले साहित्य समाजको ऐना भएको बताउँदै विद्यालय तथा क्याम्पसस्तरमा साहित्यिक कार्यक्रम भइरहनु पर्नेमा जोड दिए ।कार्यक्रममा उपप्राध्यापकद्वय कविता रिजाल र केशव शर्मा बेल्बासेले कविता वाचन गरेका थिए । बिहीबार कवितासँगै भलिबल तथा क्रिकेट खेल पनि भएको सहायक क्याम्पस प्रमुख इन्द्रबहादुर थापाले जानकारी दिए । शुक्रबार वक्तृत्वकला, स्थलगत निबन्ध लेखन तथा भलिबल र क्रिकेट खेल हुने थापाले बताए । २२ गते बुधबारबाट सुरु भएको स्वर्ण महोत्सवको कार्यक्रम २९ गतेसम्म चल्लने छ ।