ब्यारेकभित्र आत्महत्या गरेका भनिएका सैनिक जवानको हत्या भएको दाबी

प्रकाशित मिति:

कैलाली – कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा मृत भेटिएका २३ वर्षीय सैनिक जवान वीरबहादुर खड्काको हत्या गरिएको शंका गरिएको छ ।मृतकका परिवारले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी खड्काको हत्या भएको आरोप लगाएको छ । फागुन २० गते सैनिक दिवसका दिन ब्यारेकभित्रै मृत अवस्थामा भेटिएका जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १० का खड्काको हत्या गरेको आरोप पीडित परिवारले लगाएका छन् ।

परिवार र आफन्तले खड्काको आत्महत्या नभई हत्या भएकोे आरोप लगाएका छन् । पोशाक र जुत्ता नलगाएकै अवस्थामा मृत भेटिनुले हत्या भएको हुनसक्ने मृतक खड्काकी श्रीमती २२ वर्षीया हिमाली ज्योति बताउनुहुन्छ ।गोली लागेपछि समेत हतियार समातेकै अवस्थामा खड्का भेटिनु र बाहिनी प्रमुखले शव परीक्षण नगरी आत्महत्या गरेको भन्ने अभिव्यक्ति दिनुले शंका पैदा भएको उहाँको भनाइ छ ।फागुन २० गते ब्यारेकभित्र गोली प्रहार गरेको अवस्थामा मृत भेटिएका खड्काले आत्महत्या गरेको प्रहरीले बताएको थियो । तर अहिलेसम्म खड्काको शव परिक्षण भने हुन सकेको छैन् ।आफन्तले घटनाको छानबिन भएर दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् ।