नेत्रहिन विद्यार्थीलाई अध्ययन गर्न तीसहजार आर्थिक सहयोग !

प्रकाशित मिति:

झविन्द्र देवकोटा/ बुटवल –  अन्तर्राष्ट्रिय नारि दिवसको अवसर पारेर बुटवलमा दुई जना प्राज्ञिक महिलालाई सम्मान तथा दृष्टिबिहीन विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव आफ बुटवल मणि उजेशले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तरगत महिला सम्मान तथा विद्यार्थीलाई सहयोग गरेको हो । क्लवले नारी दिवसको अवसरमा शुक्रबार बुटवल – ६ की स्थायी बासिन्दा हाल अष्ट्रियाकी साईन्टिष्ट डाक्टर जोशना भण्डारी र बुटवल लक्ष्मिनगरमा रहेको लक्ष्मी माविकी प्रधानाध्यापक लक्ष्मी शाहिलाई प्राज्ञिक सम्मानले सम्मान गरेको हो ।  डाक्टर भण्डारी र प्रधानाध्यापक शाहिले शैक्षिकजगतमा उदाहरणीय कार्य गरेको भन्दै प्राज्ञिक महिलाका रुपमा सम्मान गरिएको क्लवका अध्यक्ष सृष्टि गुरुङ्गले जानकारी दिईन् ।

यसैबीच सोही कार्यक्रममा बुटवल बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत नेत्रहिन विद्यार्थी धनकला खनाललाई (विएड) स्नातक तहको अन्तिम परीक्षा र लोकसेवा आयोगको तयारी परीक्षामा सहयोग मिलोस भनेर क्लवले आर्थिक सहयोग गरेको छ । क्लवले विद्यार्थी खनाललाई ३० हजार रुपैंया नगद सहयोग गरेको हो । प्राज्ञिक महिलालाई सम्मान तथा दृष्टिबिहीन विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गर्दै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका गभर्नर सुनिल ओझाले महिला सक्षमताका लागि अवसर, सीप र तालिमको आवश्यक्ता पर्ने बताए । उनले महिलालाई अगाडि बढाउनका लागि समयसमयमा उत्प्रेरणा प्रदान गर्ने कार्यक्रम गर्नु पर्ने बताउदै लायन्स क्लव अफ बुटवल मणि उजेशले समाजमा महिलालाई अगाडि बढाउने सकारात्मक कार्यको थालनी गरेको भन्दै प्रशंसा गर्नुभयो । क्लवकी अध्यक्ष सृष्टि गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव एरिया फोरका चिफ पुरुषोत्तम प्रधानाङ्ग, इनरव्हील क्लव अफ बुटवलका पुर्व अध्यक्ष मिरा वोझा, डाक्टर जोशना भण्डारी, लक्ष्मि माविकी प्रधानाध्यापक लक्ष्मी गुरुङ्, महिला अधिकारकर्मी देवी वाग्ले लगायतले छोटो समयमै मणि उजेशले उदाहरणीय सामाजिक कार्य गरेको भन्दै क्लवको प्रशंसा गरे ।

‘दश वर्षिया बालिकालाई लायन्स एवार्ड’

यस्तै सोही कार्यक्रमा बुटवलकी १० वर्षिया बालिका श्रेया कुवँरलाई क्लवले ‘स्मल हेण्डस्, लायन हर्ट विग कन्ट्रिबुशन’ एवार्डले सम्मान गरेको छ । सानै उमेरमा आफ्नो जन्मदिन, चाडपर्व तथा खाजा खान दिएको पकेट खर्च जोगाएर समाजिक कार्यमा सहयोग गरेको भन्दै बालिका कुवँरलाई क्लवले सम्मान गरेको हो । हाल युकेमा बस्दै आएकी कुवँरले अहिलेसम्म दुई लाखबढी रकम सामाजिक कार्यमा सहयोग गरि सकेको क्लवका सदस्य सोनाली गुरुङ्गले जानकारी दिईन् । क्लवका कार्यक्रम संयोजक कविता केसिको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव सुरक्षा काफ्लेले गरेकी थिईन ।