नेपाली कुकुरले पनि चढ्यो हिमाल ! बरुनुत्से हिमाल आरोहण गर्दै विश्व कीर्तिमान

प्रकाशित मिति:

काठमाडौं – विश्वमै पहिलो पटक एक नेपाली कुकुरले बरुनुत्से हिमालको चुली चुमेको छ । सर्वोच्च शिखर सगरमाथाको दक्षिणमा रहेको बरुनुत्से २३,३८९ फिट (७,१२९ मीटर) को उचाइँमा छ । नोभेम्बर ८, २०१८ मा मेरा नामकोे कुकुरले यस्तो सफलता हासिल गरेको हो ।  प्रसिद्ध अमेरिकी म्यागेजिन ‘आउटसाइड’को अनलाइन संस्करणमा मेराको यो कीर्तिमानलाई रोचक ढंगबाट बयान गरिएको छ । अन्ना कालाघान लिखित यो आलेखमा मेरालार्ई ७,००० मीटरको हिमाली पर्वत आरोहण गर्ने पहिलो कुकुर भनिएको छ ।

बरुनुत्से हिमालको शिखरमा सबैभन्दा पहिले मे ३०, १९५४ मा न्युजिल्याण्डका आरोही कोलिन टोड र जियोफ हारोले पाइला टेकेका थिए, जसको नेतृत्व उनै कीर्तिमानी सगरमाथा आरोही एडमण्ड हिलारीले गरेका थिए । यतिबेला न हिलारी छन् न उनीसँगै पहिलोपटक सगरमाथा उक्लने तेञ्जिङ नोर्गे शेर्पा । तर, बरुनुत्से आरोहणमा मेराले तेञ्जिङको स्मरण गराइदिएका छन् । ‘कुकुरले कुनै पनि नेपाली हिमाल आरोहण गरेको मलाई थाहा छै ’, नेपाली पर्वतारोहणका दस्ताबेज संकलनकर्ता संस्था द हिमालयन डाटाबेसका बिल्ली बेयरलिङ भन्छन् । उनको सम्झनामा सगरमाथाको आधार शिविर (१७,६०० फिट) र पर्वतारोहीलाई पछ्याउँदै खुम्बु आइसफलहुँदै क्याम्प टु (२१,३०० फिट) सम्म कुनै कुनै कुकुर पुगेको बताइने गरिएको त छ, तर योभन्दा माथि कुकुर पुगेको तथ्यांक भने अहिलेसम्म पाइएको छैन ।

‘सायद कुनै पनि कुकुर संसारको सबैभन्दा बढी उचाईमा पुगेको यो कीर्तिमान हुनसक्छ’, बेयरलिङ भन्छन,‘मलाई यतिबेला अनुमति नलिई बरुनुत्से चढेकोमा कुकुरले दुःख पाउने हो कि भन्ने चिन्ता पो लागिरहेको छ ।’ मेराले काठमाडौंस्थित समिट क्लाइम्बको टोलीसँगै बरुनुत्से चढेको थियो, जसको नेतृत्व अमेरिकाको सियाटल बस्ने गाइड डन बारगोस्काईले गरेका थिए ।डनको टोलीले मेरा पिक (२१,२४७ फिट) चढेर फर्कदा कारे भन्ने गाउँमा मेरालाई देखेका थिए । त्यसपछि बरुनुत्से चढने तयारी गरेका यो टोलीमा कुकुर सँगसँगै अघि लागेको थियो । त्यसपछिका हिमनदी, हिमपहिरो, चिसो बतासजस्ता अनेक चोटपटक सहदैं पर्वतारोहीभन्दा अघि मेराले शिखरमा पाइला टेकेको थियो । मेराको पदयात्रा जतिजति लम्बिदैं गयो, गाइड बारगास्काई उनको साथी बन्दैं गए । दुईबीच प्रेम झाँगिदैं गयो । पर्वतारोहीहरु बरुनुत्सेको क्याम्प टु (२१,००० फिट)बाट शिखरतर्फ लाग्दा मेरा सुतिरहेको थियो । तर, पर्वतारोहीहरुले सात घण्टा हिडिसकेपछि यसो हेर्दा त मेरा उनीहरुसँगै थियो ।

मेरा त शिखरमा पाइला टेकिसकेपछि फर्कदा पहिल्यै बरुनुत्से चढिसकेका कतिपय पर्वतारोहीले यो कुरा सहजै पत्याएनन् । तर, बारगास्काई र उनको टोलीसँगका प्रशस्त तस्वीरले उनीहरुलाई विश्वास गर्न कर लाग्यो । पर्वतारोहण सकियो । सबै घर फर्किए । तर, बारगास्काईलाई मेराको सम्झनाले पिरोल्न थाल्यो । उनले आरोहणका आधार शिविर प्रबन्धक काजी शेर्पालाई मेराको स्वास्थ्यबारे चासो व्यक्त गरे । काजीले एक सय डलर दिएर मेराको खोजी गर्न अर्का व्यक्तिलाई अह्राए । तीन दिनको गाडीको यात्रापछि मेरा काठमाडौं आइपुग्यो । २५ डिसेम्बर ख्रिष्टमसको दिन, काजीले मेराका तस्वीरहरु बारगास्काईलाई पठाए । यतिबेलासम्म मेराको धेरै कुरा फेरिएका थिए, बरुनुत्से चढेपछि उसको नाम मेराबाट बरु बनेको थियो । शिखर चढ्दा घटेको तौल बढेको थियो । बरु स्वस्थ्य र खुसी देखिन्थ्यो ।