रुपन्देही सुपर लिगमा,देवदह क्रिकेट युनिट विजयी

प्रकाशित मिति:

रुपन्देही/रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ को खेलमा बुमएमसीसी क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै देवदह क्रिकेट युनिट देवदह विजयी भएको छ ।टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८.२ ओभर खेल्दै सबै विकेट गुमाई १९१ रनको योगफल बनाएको थियो । उसका लागि सुरज दरईले ५९, खोम पाण्डेले ५४ र अर्जुन रायमाझीले १५ रन बनाए । बलिङमा बुमएमसीसीका इखलाक अहम्मदले २, दुर्गेश गुप्ता, विनोद मगर, तुसार चौहान र श्रीकान्त केवटले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा १९२ रनको लक्ष्य पछ्याएको बुमएमसीसी ३७.४ ओभरमा सबै विकेट गुमाई जम्मा १३० रन मात्रै बनाउन सक्यो । उसका लागि दुर्गेश गुप्ताले २७, इखलाक अहम्मदले १६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा देवदहका सुरज खड्काले ३, सग्रम चौधरीले २, कीर्तिमान ढकाल, सुरज दरई, प्रेम श्रेष्ठले समान १÷१ विकेट लिए । खेलमा सुरज दरई म्यान अफ दी म्याच घोषित भए ।

सोमबार न्यू होराइजन क्रिकेट क्लब बुटवल र वेष्टर्न क्रिकेट क्बल बुटवलबीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।