सप्तरीमा युवकको अपहरण प्रयास

प्रकाशित मिति:

सप्तरी । सप्तरीका एक युवक अपहरणबाट जोगिएका छन् । कुटपिट गर्दै हात बाँधेर भारततर्फ लैजाने क्रममा ती युवक अपहरणकारीको कब्जाबाट मुक्त भएका हुन् ।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासा निवासी जिया उल हक बोदे बर्साइन बजारमा सञ्चालन गरेको पसल बन्द गरेर घरतर्फ आउँदै थिए । शनिबार राति केही व्यक्तिहरुको समूहले कब्जामा लिई भारततर्फ लगे ।डाक्नेश्वरी नगरपालिकाकै हटैल हुँदै भारततर्फ लैजाने क्रममा भारतीय एसएसबीले नेपाल र भारतको बीचमा रहेको नारी सीमा नाकामा चेक जाँच गर्दा जियाउलको हात बाँधेको देखेर सोध्नै लाग्दा अपहरणकारी आफूलाई छाडेर भागेको जियाउलले बताए ।

‘बोदे बर्साइनबाट स ८ प ७४७० नम्बरको मोटरसाइकल चढी घरतर्फ आउने क्रममा रञ्जितपुर भन्ने ठाउँमा रहेका ७÷८ जनाको समूहले आफूलाई निर्घात कुट्दै बेहोस बनाएर हात बाँधी भारततर्फ लगिरहेका थिए’ जियाउलले भने, ‘सीमामा एसएसबी नभएको भए, आज उनीहरुले के गर्थे, त्यो कल्पना गर्न सक्दिनँ ।’सीमामा अपहरणबाट जोगिएका जियाउललाई स्थानीयहरुले उद्वार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गराएका छन् ।

यसैबीच आफ्नो अपहरणको प्रयास भएको भन्दै जियायलले दाजु सम्सुल मार्फत् जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता लगत्तै तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।डाक्नेश्वरी नगरपालिका १ कविलासाकै तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।