लुम्बिनी साना तथा मझौला ढुवानीको बार्षिक उत्सवमा बिभिन्न कार्यक्रम

प्रकाशित मिति:

हरिश ढकाल \बुटवल, साउन ११ । बुटवलमा प्रधान कार्यालय रहेको लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको पाँचौं स्थापना दिवशका अवसरमा आईतबारदेखि १५ गतेसम्म बिभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छ । संघका अध्यक्ष लक्ष्मण क्षेत्रीका अनुसार स्थापना दिवशका अवसरमा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने सोमबार अनाथ बालबालीकालाई खाद्यान्न तथा स्टेशनरी सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।
बिसं २०७० सालमा स्थापित सो लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघमा हाल ४ सय ५० भन्दा बढि साना तथा मझौला ढुवानीका साधनहरु रहेको तथा कुनैपनि किसिमको सिण्डिकेट प्रणाली नरहेको अध्यक्ष क्षेत्रीले बताएका छन । क्षेत्रीका अनुसार १५ गते मंगलबार सवारी दुर्घटना न्यूनिकरणका सम्बन्धमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तर माबि बक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सहित समापन समारोह हुने छ ।
पटके करले साना तथा मझौला ढुवानीका साधनहरु मारमा परेको गुनासो गर्दै अध्यक्ष क्षेत्रीले ट्रक बस लगाएतका ठुला सवारी तथा ढुवानी साधन जान नसक्ने दुर्गम पहाडी र साना सडकमा सेवा पुराएको दावी समेत गरेका छन । सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा स्थापना कालदेखि नै बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको संघले प्रदेश सरकारसँग पटके कर हटाउन माग गरेको छ ।
यातायात ब्यबस्था कार्यालयबाट पहिले लुम्बिनी अञ्चलमा रुट परमिट इजाजत प्रदान गर्ने ब्यबस्था भएकोमा नयाँ संरचना अनुसार अहिले अन्चल कार्यालय खारेज भै प्रदेशमा गएपछि प्रदेश स्तरिय रुट ईजाजत पाउनु पर्ने माग साना तथा मझौला ढुवानी ब्यबसायीहरुको रहेको छ । सामाजिक क्रियाकलापमा अग्रसर रहेको संघले स्थापना कालदेखिनै दुर्घटना न्यूनिकरणका लागि चालक तथा मजदुरहरुलाई प्रशिक्षण कार्यक्रम, सरोकारवाला बिच अन्तरक्रिया, सचेतना कार्यक्रम आदी संचालन गर्दै आईरहेको र आगामी दिनमा पनि निरन्तर गरिरहने संघका अध्यक्ष क्षेत्रीले बताएका छन ।