सप्तरीमा व्यापारीको अपहरण प्रयास, तीनजना पक्राउ

प्रकाशित मिति:

सप्तरी – सप्तरीमा एकजना कपडा व्यापारीलाई अपहरणको प्रयास गरिएको छ । डाक्नेश्वरी नगरपालिका वडा न. १ कविलासा निवासी जियाउल हक बोदे बर्साइन बजारमा सञ्चालन गरेको पसल बन्द गरेर घरतर्फ आउँदै गरेको बेलामा शनिबार राति अपरिचित व्यक्तिहरुको एक समूहले कब्जामा लिई भारततर्फ लगेका थिए ।डाक्नेश्वरी नगरपालिकाकै हटैल हुँदै भारततर्फ लैजाने क्रममा भारतीय एसएसबीले नेपाल र भारतको बीचमा रहेको नारी सीमा नाकामा जाँच गर्दा जियाउलको हात बाँधेको देखेर सोध्नै लाग्दा अपहरणकारी आफूलाई छाडेर भागेको जियाउलले जानकारी दिनुभयो ।

बोदे बर्साइनबाट स ८ प ७४७० नम्बरको मोटरसाइकलमा घरतर्फ आउने क्रममा रञ्जितपुर भन्ने ठाउँमा रहेका ७/८ जनाको समूहले जियाउललाई कुटपिट गरेर बेहोस बनाएर हात बाँधी भारततर्फ लगिरहेका थिए । जियाउलले भन्नुभयो ‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ ।’ सीमामा अपहरणबाट जोगिएका जियाउललाई स्थानीयहरुले उद्वार गरी राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरेको प्रहरीले जनाएको छ । यसैबीच आफ्नो अपहरणको प्रयास भएको भन्दै जियाउलले दाजु सम्सुलमार्फत् जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ । उजुरी दर्ता लगत्तै तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका १ कविलासाकै तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाको नाम खुलाइएको छैन ।